भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ 'ए' जलविद्युत आयोजनाको सुरूङमा फसेकाहरूको उद्धार चुनौतीपूर्ण रहेको उद्धारमा संलग्नहरूले बताएका छन्।
नेपाल विद्युत प्राधिकरणद्वारा प्रवर्द्धित ६० मेगावाट क्षमताको उक्त आयोजनामा ३५ देखि ४० जना श्रमिक/कर्मचारी फसेको अनुमान छ।
पाँच दिनदेखि फसिरहेका उनीहरूको उद्धारका लागि नेपाली सेना तथा विज्ञसहितको टोलीले काम गरिरहेको छ।
टोलीले सुरूङ पत्ता लगाइसकेको छ। तर उद्धार टोली भित्रसम्म पुग्न सकेको छैन।
रातभरदेखि अहिले पनि खन्ने काम निरन्तर भइरहेको छ।
उद्धारको नेतृत्व लिएर फिल्डमा खटिएका सांसद तथा सुरूङ विज्ञ श्रीराम न्यौपानेका अनुसार रातको करिब ३ बजे सुरूङको क्राउन ब्लास्ट गरेर हेर्दा क्राउनसम्मै पानीले भरिएका कारण भित्र पस्न असम्भव देखिएको छ।
'भित्र पानी नभएको भए यतिबेला हामी सम्भावित मानिसहरू फसेको ठाउँसम्म पुगिसकिन्थ्यो। तर पानी भरिएकाले भित्र पस्न असम्भव भयो। हामी अर्को विकल्पमा काम गरिरहेका छौं,' उनले सेतोपाटीसँग भने।
सुरूङ भित्र रहेको पानी, लेदो तथा गेग्रान हटाउने काम भइरहेको उनले बताए।
'यहाँ ४० मिटर चौडाई, ४० मिटर उचाई भएको गेग्रान (ढुङ्गा, माटोसहित सुरूङ भित्र थुप्रिएको लेदो) छ। हटाउनका लागि चाहिने मेसिन ल्याउन सम्भव छैन। यहिँ भएको पुरानो मेसिन छ त्यसैले काम गरिरहेका छौं। पानी ड्रेन गर्नलाई ब्लास्टिङ गर्दै काम गर्छौं,' उनले भने।
सुरूङ क्षेत्रमा बेल्चाले डुंगामाटो हटाइरहेको दृश्य पनि सामाजिक सञ्जालमा छ्यापछ्याप्ती आइरहेका छन्।
यसबारे पनि हामीले न्यौपानेलाई प्रश्न गरेका छौं।
जबाफमा उनले अहिले उपलब्ध सामग्रीहरूबाटै काम भइरहेको बताए।
'हामीलाई दुइटा ठूला एक्स्काभेटर चाहिएको छ। तर हेलिकप्टरबाट ल्याउन सम्भव छैन। पार्टपुर्जा ल्याएर यहिँ एसेम्बल गर्ने हो भने पनि अरू केही दिन लाग्छ, त्यसो हुँदा जे उपलब्ध छ त्यसैले काम गरिरहेका छौं,' उनले भने।
उनका अनुसार सुरूङको पानी पम्पिङ गरेर निकाल्ने प्रयास समेत भइरहेको छ।
अहिलेको जसरी दिनभर काम गर्दा पनि सम्भावित उद्धार गर्नुपर्ने ठाउँसम्म पुग्न कठिन हुनसक्ने उनको भनाइ छ।