बाढी पहिरो तथा विपद्का कारण क्षति पुगेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक पुनःनिर्माणका लागि सडक विभागले निर्माण व्यवसायीसँग दररेट माग्न सुरू गरेको छ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाले योग्य निर्माण व्यवसायी तथा बोलपत्र दाताबाट विभिन्न निर्माण कार्यका लागि प्रति–इकाइ दररेट माग गर्दै सार्वजनिक सूचना जारी गरेको हो।
‘रेट हुनेबित्तिकै काम गराउन सजिलो हुन्छ भनेर निर्माणका लागि सार्वजनिक सूचना निकालेका हौँ,’ इन्जिनियर शुभराज न्यौपानेले भने।
दररेट माग गरिएका काममा सडकमा खसेको पहिरो तथा लेदो पन्छाउने र व्यवस्थापन गर्ने, माटो तथा चट्टान कटानी गर्ने, ९००, १२०० र १५०० मिलिमिटर व्यासका आरसीसी ह्युम पाइप राख्ने तथा ग्याबिन वाल र ग्याबिन म्याट्रेस निर्माण गर्नुपर्ने छ।
त्यस्तै, तादी नदीमा क्षति पुगेको स्टिल ट्रस पुल खोलेर १५ किलोमिटर भित्रको स्टोरमा ढुवानी गर्ने तथा हेटौँडाबाट तादी (देवीघाट) सम्म दुई लेनको बेलिब्रिजका पार्टपुर्जा ढुवानी गरी जडान र लोड टेस्टिङ गर्ने कामका लागि पनि दररेट मागिएको छ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड ८२ किलोमिटर लामो छ। त्यसमध्ये करिब ४० किलोमिटर सडक कालोपत्रे भइसकेको थियो। बाढीपहिरोबाट सडकको करिब ५० प्रतिशत भागमा क्षति पुगेको विभागले जनाएको छ।
विभागले नुवाकोटसम्म आउने सडकसहित क्षतिग्रस्त खण्डको पुनःनिर्माण अघि बढाउन दररेट संकलन गरिरहेको जनाएको छ।