भोटेकोशी–त्रिशूली बाढीका कारण जलविद्युत आयोजनामा फसेका तथा सम्पर्कविहीन भएकाको खोजी सोमबार पनि जारी रहेको सरकारी अधिकारी र ऊर्जा उत्पादकले बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार विभिन्न आयोजनामा उद्धार टोली परिचालन भए। सुरूङमा प्रवेश गर्ने, पानी निकाल्ने र बाटो खुलाउने काम भए।
तर सबै आयोजनामा उद्धार सफल हुन सकेन।
माथिल्लो त्रिशूली–३ 'ए'
यहाँ उद्धार कार्य २४ घण्टा जारी रह्यो। सुरूङको पोर्टल सफा गर्ने काम भयो। क्राउन ब्लास्ट गरियो। त्यस क्रममा सुरूङभित्र पानी रहेको पत्ता लाग्यो। त्यसपछि पम्प प्रयोग गरेर पानी निकाल्ने काम भयो।
सुरूङको मुखमा थुप्रिएको ढुंगा–माटो हटाइयो। भित्र प्रवेश गर्ने बाटो बनाउने काम पनि भयो।
विज्ञ तथा प्राविधिक टोली उद्धारमा खटिएको छ। तर सुरूङभित्र पानी भरिएकाले उद्धार चुनौतीपूर्ण बनेको छ।
रसुवागढी जलविद्युत आयोजना
यहाँ नेपाली सेनाको नेतृत्वमा उद्धार टोली सुरूङभित्र पुग्यो। टोलीमा इन्जिनियर र ड्रोन टोली पनि सहभागी थिए।
सुरूङको भित्री भागमा ड्रोन उडाएर खोजी गरियो। तर कोही फेला परेनन्। त्यसपछि उद्धार टोली फर्किएको छ।
आयोजनाबाट कम्पनीका ४९ कर्मचारीसहित ९३ जना सम्पर्कविहीन छन्।
चिलिमे जलविद्युत केन्द्र
यहाँमा उद्धार कार्य सोमबार पुनः सुरू भयो। नेपाली सेना, पर्वतारोही र भारतीय प्राविधिक टोली खटिए।
आयोजनाका प्राविधिक पनि उद्धारमा सहभागी भए। विद्युत गृहसम्म पुग्ने बाटो खुलाउने काम भयो।
२५० मिटर लामो सुरूङमा करिब ९० मिटरसम्म पुग्न सकिएको छ। त्यसपछि भने अघि बढ्न सकिएको छैन।
लाङटाङ खोला जलविद्युत आयोजना
यहाँ नेपाली सेनाको नेतृत्वमा उद्धार टोली पुग्यो। भारतीय सेना र प्राविधिक पनि टोलीमा छन्।
टोलीले आयोजनास्थल र सुरूङको निरीक्षण गर्यो। तर सुरूङभित्र फसेकाहरूको उद्धार हुन सकेन।
आयोजनाले मंगलबार आफ्नै तर्फबाट पनि उद्धार प्रक्रिया अघि बढाउने जनाएको छ।
माथिल्लो त्रिशूली–३ 'बी'
यहाँमा आइतबारदेखि हराइरहेकाहरूको खोजी जारी छ। आयोजनाका संरचना बाढीले बगाएका छन्।
संरचना बगेपछि उद्धारमा कठिनाइ भएको छ। आयोजनासँगै रहेको २२० केभी त्रिशूली–३ 'बी' हब सबस्टेसनमा पनि पूर्ण क्षति पुगेको छ।
सबस्टेसनबाट सम्पर्कविहीन भएकाहरूको पनि खोजी भइरहेको छ।
माथिल्लो त्रिशूली–१
यहाँबाट सोमबार तीन जनाको उद्धार भएको छ। हालसम्म उद्धार र सम्पर्कमा आएकाको संख्या ८७३ पुगेको छ।
आयोजनाका परामर्शदाता, ठेकेदार कम्पनी र कर्मचारी गरी ५७३ जना सम्पर्कविहीन छन्। त्यसमध्ये करिब ३०० जना सुरूङभित्र काम गर्ने थिए।
उनीहरू सुरूङभित्र थिए वा प्रवेश गर्न बाँकी थिए भन्ने यकिन भएको छैन। बाढी आएको दिन आयोजनामा करिब १ हजार ४०० भन्दा बढी मानिस काम गरिरहेको हुनसक्ने अनुमान छ।
इप्पानका अनुसार सोमबार विभिन्न आयोजनामा उद्धार टोली परिचालन भए। कतै सुरूङबाट पानी निकाल्ने काम भयो। कतै बाटो खुलाउने काम भयो। कतै ड्रोनबाट खोजी गरियो। तर धेरै आयोजनामा सुरूङभित्र फसेकाहरूको उद्धार अझै हुन सकेको छैन।