प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने तय भएको छ।
शनिबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ। बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको सत्तारूढ नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
प्रधानमन्त्री ओलीले स्पेनको औपचारिक भ्रमणबारे शनिबार बस्ने प्रतिनिधि सभामा जानकारी गराउन लागेका हुन्।
प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणका लागि शनिबार त्यसतर्फ जाँदैछन्।
साँझ ६ बजे प्रधानमन्त्री नेतृत्वको भ्रमण टोली स्पेन प्रस्थान गर्दैछ।
स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडि–४)’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीको भ्रमण हुन लागेको हो।
विकासका लागि वित्तसम्बन्धी यो सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधि सहभागी हुनेछन् ।
नेपालले अल्पविकसित, साना र टापु मुलुकको आवाज समेतलाई अगुवाइ गर्दै सम्मेलनमा वकालत गर्नेछ । सम्पन्न मुलुकले गरिब र साना मुलुकका लागि गरेका लगानी प्रतिबद्धताको कार्यान्वयनका लागि पनि सम्मेलनमा छलफल हुनेछ ।
भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री ओलीले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनका समकक्षी सान्चेजसँग भेटवार्ता गर्नेछन् भने विश्वका अन्य मुलुकका नेताहरूसँग ‘साइडलाइन’ भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यही असार १६ गतेदेखि १९ गतेसम्म हुने सम्मेलनका लागि प्रधानमन्त्री ओली आज साँझ ६ बजे कतारको दोहा हुँदै मेड्रिड जानेछन् भने यही असार २० गते शुक्रबार साँझ ४:४५ बजे फर्कने तालिका छ ।