राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय रहेको घरका घरधनी भरतमणि देवकोटाले आफूले पार्टीका नेताहरूलाई घर खाली गरिदिन भनेको बताएका छन्। सेतोपाटीसँग सम्पर्कमा आएका र लिखित नोट उपलब्ध गराएका देवकोटाले आफूले बक्यौताको कारण भन्दा पनि असुरक्षाको कारणले खाली गरिदिन भनेको जानकारी दिएका छन्।
रास्वपा २०८० असारमा बनस्थली सरेको हो। त्यसअघि बसुन्धरास्थित ८ कोठे घरमा बसेको थियो। अहिले विष्णुमति किनारनजिकै ६ तले भवनमा बसिरहेको छ। यो घर पार्टीका अनुशासन आयोग प्रमुख भरतमणि देवकोटा हो। पार्टी अनुशासन आयोग प्रमुख निष्क्रिय राख्दै उनी अमेरिका गएका थिए। यद्यपि उनी पार्टीमै रहेको बताउँदै आएका छन्।
त्यो घर मासिक १ लाख ८५ हजार भाडा बुझाउने गरी बहालमा लिएको हो। यसमध्ये ३५ हजार रूपैयाँ बहाल कर पार्टीले दाखिला गर्ने र बाँकी १ लाख ५० हजार घरधनीले लिने गरी सम्झौता भएको थियो। अहिले करिब १० महिनाको घर बहाल बुझाउन बाँकी रहेको पार्टीकै नेताहरूले बताएका छन्।
घरधनीले रकम भन्दा पनि असुरक्षा प्रधान रहेको भन्दै नोटमार्फत् प्रष्ट पार्न चाहेको बताएका छन्। अहिले पार्टीकै नेता–कार्यकर्ताले नकारात्मक टीकाटिप्पणी गरेको पनि गुनासो गरेका छन्।
नोटमार्फत् उनले असुरक्षाको कारण उल्लेख गरेका छन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विगत २ वर्षभन्दा बढी समयदेखि वनस्थलीस्थित मेरो घरमा रहेको छ। घरधनी र ग्राहकको रूपमा पार्टी र मेरो बीच सबै कुरा राम्रै चलिरहेको थियो। जेन जी आन्दोलन र त्यस पछिका घटनाक्रमले परिस्थिति बदलियो। आन्दोलनको दोस्रो दिन, केही युवाहरू घरको पछाडिपट्टिबाट आए र घरमा ढुंगा हान्न थाले। उनीहरूले केही बोतल पेट्रोल बोकेका थिए र आगो लगाउन तयार थिए। सौभाग्यवश, कुनै पनि अप्रिय घटनाबाट कार्यालयलाई जोगाउन सो समयमा पार्टीका धेरै कार्यकर्ताहरू त्यहाँ उपस्थित हुनुहुन्थ्यो। केही मिनेटमै हाम्रा पार्टी कार्यकर्ताहरू ढुंगा हानिएको ठाउँतिर दौडिए। जसमध्ये १४–१५ जना भाग्न सफल भए र एक जनालाई समातियो। प्रहरी प्रशासन निष्क्रिय रहेको अवस्थामा हाम्रा पार्टी कार्यकर्ताहरूले केही सोधपुछ गरेपछि उसलाई छाडिदिए,’ उनले नोटमार्फत् भनेका छन्।
त्यसपछि आफूले सबै जोखिम सकिएको हो र? अब सुरक्षित बस्न सकिएला त? भन्दै विश्लेषण गरेको पनि उनले बताएका छन्।
‘हामीले जम्मा दुई दिनमा भएको मानवीय र भौतिक क्षतिको पनि विश्लेषण गर्यौं। देशभर ६०० भन्दा बढी संरचनाहरूमा क्षति पुगेको थियो। ७४ जनाले ज्यान गुमाए, जुन क्षतिको कुनै मापन हुन सक्दैन। आन्दोलनकारीहरूले आजसम्म पनि आफूले लडेको कुनै पनि परिवर्तन महसुस गर्न सकेका छैनन्। त्यहाँ असन्तुष्ट युवाहरूको अन्य समूहले पनि यस्तै घटना दोहोर्याउन सक्ने सम्भावना छ,’ उनले भनेका छन्।
राजनीतिक अवस्था अझै तरल रहेको र जुनसुकै बेला जे पनि हुन सक्छ भन्ने आफ्नो आँकलन र निष्कर्ष रहेको उनले बताएका छन्।
आफूले यस विषयमा पार्टीका नेताहरूसँग छलफल गरी अल्पकालीन उपायहरू निकालिएको उनको भनाइ छ।
‘मैले यो विषयमा पार्टीका नेताहरूसँग छलफल गरें। केही अल्पकालीन उपायहरू जस्तै बीमा गर्ने (गरियो), नियमित सुरक्षा प्रणालीका साथै सुरक्षाका लागि केही पार्टीका साथीहरू परिसर भित्रै बस्ने काम जारी छ,’ उनले भनेका छन्।
केही दिनका लागि भए पनि आफूले पार्टीको झन्डा र साइनबोर्ड हटाउन भनेको तर उक्त कार्य नगरिएको उनले बताएका छन्।
‘मैले केही समयका लागि पार्टीको झण्डा र साइनबोर्ड हटाउन सुझाव दिएँ (गरिएन, किन गरिएन मैले बुझ्न सकिन)। पार्टीले सशस्त्र प्रहरी बलको सुरक्षा माग गर्ने प्रक्रिया पनि अगाडि बढाएको छ, जुन छिट्टै हुन सक्छ। यी सबै उपायहरू अपनाउँदा पनि, आन्दोलनका क्रममा देखिएको निष्क्रिय सुरक्षा प्रणाली र क्षतिको भयावह अवस्थाले गर्दा हामी सुरक्षित हुनेछौं भनेर म आश्वस्त हुन सकिनँ,’ उनले भनेका छन्।
उनले यही भवनमा आफ्नो निवास रहेको र फेरि त्यस्तै घटना भए आफ्नो परिवारलाई त्यहाँबाट निकाल्न गाह्रो हुने देखेको पनि उनले बताएका छन्।
‘कृपया ध्यान दिनुहोला, यही भवनमा हाम्रो निवास पनि छ। यदि यस्तै घटना फेरि भयो भने, हामीलाई परिसरबाट बाहिर निस्कन गाह्रो हुन सक्छ। यदि मेरो सम्पत्ति सुरक्षित हुने ग्यारेन्टी हुन्छ भने, हामी सुरक्षित महसुस नभएसम्म यो ठाउँ छाडेर अन्यत्र कतै भाडामा बस्न खुसीसाथ तयार थियौं। पार्टी नेतृत्व यसमा सहमत भएन। तर उहाँहरूले हाम्रो संवेदनशीलता बुझि दिनुभयो, त्यसका लागि धन्यवाद!,’ उनले भने।
अन्तिममा आफूले सम्झौताअनुसार तीन महिनाभित्र घर खाली गरिदिन भनेको बताएका छन्। र, पार्टी नेतृत्व त्यसमा राजी भएको उनको दाबी छ।
उनले नेतृत्वको आग्रहअनुसार नै तीन महिनाको अवधिलाई ६ महिना पुर्याएको र ६ महिनाभित्र घर खाली गरिदिने बताएको पनि देवकोटाले बताएका छन्।
‘अन्ततः हामीले हाम्रो सम्झौता अनुसार तीन महिनाभित्र घर खाली गर्न सूचना दियौं। पार्टी नेतृत्वले हाम्रो चिन्तालाई महसुस गर्यो र घर खाली गर्न सहमत भयो। तर, उहाँहरूको अनुरोध करिब ६ महिना वा फागुन (चुनाव) सम्म बस्न दिनुहोस भन्ने थियो। हामीले उहाँहरूको चिन्तालाई पूर्ण रूपमा बुझ्यौं र यसमा आफ्नो लचकता प्रकट गर्यौं,’ उनले भनेका छन्।
यसरी सहमति भइसकेपछि पार्टीकै नेताहरूले मिडिया ट्रायल गरेकोसमेत आरोप लगाएका छन्।
‘म विश्लेषण गर्दैछु, मेरो गल्ती कहाँ भयो? मैले त कुनै गल्ती देखेको छैन। अब म सोच्दैछु, मिडियालाई यो जानकारी कसले दियो? अनि, यो ’मिडिया ट्रायल’ किन? यो ‘मिडिया ट्रायल’ कसले र किन गरिरहेको छ?,’ उनको प्रश्न छ।
आफ्नो अवस्था र आफूले अपनाएको प्रक्रिया सुरक्षा संवेदनशीलता रहेको उनको दाबी छ।
‘सबैले बुझिदिनुहोस्। यो विषम परिस्थितिमा आत्तिएको अवस्थामा सुरक्ष दिन नसकिने भए मेरो घर खाली गर्न लगाउँदा म पार्टीमा बस्न अयोग्य हुन्छु र? यदि यहि विषयलाई लिएर अयोग्य भए म खुसीसाथ पार्टीको निर्णय मान्न तयार छु र मेरा पार्टी भित्रका सबै सदस्य मित्रहरूलाई सुझाउन चाहान्छु– पार्टीप्रति कुनै वैरभाव छैन। यस्तो संवेदनशील समयमा मिडिया ट्रायल गरेकोमा दुःखी छु साथै पार्टीलाई सही मार्गदिशा दिन तहगत समरचनाले पनि मूल्यांकन् गरोस्,’ उनको आग्रह छ।
यसपछि हामीले पार्टीको केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारीलाई सोध्यौं। उनले भाडा नियमित तिर्दै आएको दाबी गरिन्। र, घरधनी–बहालवालाको विषय मिडियाबाजीको विषय नरहेको भन्दै यसलाई सामान्य रूपमा लिन आग्रह गरिन्।
‘हामीले नियमित नै भाडा वापतको भुक्तानी बुझाउँदै आएका छौं। कहिले ढिला, चाँडो, दुई–तीन महिनाको बक्यौता रहने भन्ने स्वाभाविकै हो। घर छाड्नु भनेको कुरा मेरो जानकारीमा छैन,’ उनले भनिन्।
![रास्वपाका-शुभचिन्तकहरूलाई-मिडियाको--खण्डन[1]_page-0001-1758935829.jpg](https://www.setopati.com/uploads/posts/%E0%A4%B0%E0%A4%BE%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%AA%E0%A4%BE%E0%A4%95%E0%A4%BE-%E0%A4%B6%E0%A5%81%E0%A4%AD%E0%A4%9A%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%95%E0%A4%B9%E0%A4%B0%E0%A5%82%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%AE%E0%A4%BF%E0%A4%A1%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%95%E0%A5%8B--%E0%A4%96%E0%A4%A3%E0%A5%8D%E0%A4%A1%E0%A4%A8%5B1%5D_page-0001-1758935829.jpg)
![रास्वपाका-शुभचिन्तकहरूलाई-मिडियाको--खण्डन[1]_page-0002-1758935828.jpg](https://www.setopati.com/uploads/posts/%E0%A4%B0%E0%A4%BE%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%AA%E0%A4%BE%E0%A4%95%E0%A4%BE-%E0%A4%B6%E0%A5%81%E0%A4%AD%E0%A4%9A%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%95%E0%A4%B9%E0%A4%B0%E0%A5%82%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%AE%E0%A4%BF%E0%A4%A1%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%95%E0%A5%8B--%E0%A4%96%E0%A4%A3%E0%A5%8D%E0%A4%A1%E0%A4%A8%5B1%5D_page-0002-1758935828.jpg)