नेकपा एमाले सचिवालय बैठकमा पार्टी पुनर्गठनको विषय उठेको छ। जेन–जी आन्दोलनपछि पहिलो पटक बसेको एमाले सचिवालय बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पार्टी पुनर्गठनको कुरा उठाएको एक पदाधिकारीले बताए।
आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ७ स्थित गुण्डु निवासमा बसेको सचिवालय बैठक झन्डै साढे पाँच घन्टा चलेको थियो।
दिउँसो २ बजेदेखि साँझ साढे सात बजेसम्म चलेको बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी पुनर्गठनको कुरा उठाएका थिए।
एक पदाधिकारीले दिएको जानकारी अनुसार अध्यक्ष ओली आइतबारको बैठक छिट्टै सक्ने मनसायमा थिए। आफ्नो नेतृत्वको सरकारलाई विस्थापित गर्ने गरी भएको जेन–जी आन्दोलनको सामान्य समीक्षा गर्ने, एउटा प्रस्ताव तयार पारेर बैठक सक्ने उनको योजना रहेको सचिवालय सदस्यको दाबी छ।
अध्यक्षले त्यहीअनुरूप घटनाक्रमबारे सामान्य धारणा राखेपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बोलेका थिए।
पोखरेलले भदौ २३ र २४ गतेको घटनाको ठोस समीक्षा हुनुपर्ने, पार्टी पुनर्गठनको आगामी कार्यदिशा कस्तो हुने र अबको कार्यनीति नारा के हुने भनेर यी तीन वटा विषयमा घनिभूत छलफल हुनुपर्ने बताएपछि बैठक लम्बिएको ती नेताको भनाइ छ।
'वरिष्ठ उपाध्यक्षले आफ्ना धारणा राखेपछि सचिवालयका अरू नेताले पनि त्यसैको वरिपरि रहेर कुरा राख्नुभयो। वरिष्ठ उपाध्यक्षले अघि सारेको तीन वटा कुराले नै कार्यसूचीको रूप पनि लियो,' ती नेताले भने, 'आजैको बैठकमा कसैले पनि अध्यक्षलाई पद छाड्नुपर्छ भनेर त भन्नुभएन। तर पुनर्गठनको मुद्दाचाहिँ पेचिलो ढंगले उठ्यो।'
अर्का सचिवालय सदस्यले पनि पार्टी पुनर्गठनको विषय नै पार्टीको आगामी कार्यदिशा हुनुपर्ने भनेर अधिकांश सदस्यले आफ्नो धारणा राखेको बताए।
'भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन त्यसपछि उत्पन्न परिस्थितिको समीक्षा हुनुपर्ने भन्ने धेरै सदस्यको धारणा थियो। हामीले आजै ओलीलाई पद छाड्नुपर्छ त भनेनौं तर पार्टी तलदेखि माथिसम्म पुनर्गठन हुनुपर्छ, विचार, संगठन र कमिटीको तहमा पुनर्गठन गरेर जानुपर्छ भन्ने नै सबैको मत थियो,' ती नेताले भने।
जेन–जी आन्दोलनको मिहीन समीक्षा हुनुपर्ने, पुनर्गठनको कार्यदिशा तय गरिनुपर्ने आवाज सघन ढंगले उठेपछि सचिवालयको अर्को बैठक बस्ने गरी आजको छलफल टुंग्याएको अर्का पदाधिकारीले बताए।
उनका अनुसार आइतबारकै बैठकको निरन्तरता स्वरूप असोज १९ र २० गते सचिवालयको ५८ औं बैठक बोलाइएको छ।
त्यसले पार्टी पुनर्गठनको ठोस आधार तयार गर्ने सचिवालयका सदस्यहरू बताउँछन्।
त्यस्तै आइतबारको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक पनि आह्वान गरेको छ। केन्द्रीय कमिटीको दसौं बैठक २७, २८ र २९ गते बस्नेछ।
'समग्र घटनाको गम्भीर समीक्षा हामी गरी नै रहेका छौं। केन्द्रीय कमिटीमा व्यवस्थित प्रतिवेदन नै हामी प्रस्तुत गर्नेछौं। घटनाक्रमहरू कसरी विकसित भए, यसका पछाडि कस्ता कस्ता शक्ति, पक्ष र तत्त्वहरू छन्? यो केवल सरकार परिवर्तनमा मात्रै लक्षित होइन, यसका धेरै गहिरा, दुरगामी खाल उद्देश्यहरू छन्, जसले मुलुकको लोकतन्त्र, संविधान, राजनीतिक स्थायित्व मुलुकको स्वाभिमानमाथि नै गम्भीर आँच पुर्याउने सम्भावना हामीले देखेका छौं। यी समग्र घटनाक्रमहरूको वस्तुनिष्ठ समीक्षासहितको प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत गर्छौं,' उपमहासचिव प्रदीप ज्ञवालीले भने।
उपमहासचिव ज्ञवाली पार्टीको नीतिको पुनर्व्यवस्थापनबारे के गर्ने, नेतृत्वबारे के गर्नुपर्छ भनेर पनि बैठकमा कुरा भएको बताउँदै केन्द्रीय कमिटी बैठकमा अझ विस्तारित ढंगले छलफल हुने बताए।
अब बस्ने केन्द्रीय कमिटी बैठकले ११ औं महाधिवेशनबारे निर्णय गर्ने पनि बताए।