नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन पारित गर्ने क्रममा विवाद उत्पन्न भएको छ।
शुक्रबार साँझ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित भएको जनाउ दिँदै केन्द्रीय सदस्यहरूले ताली बजाएपछि नेताहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले उठेर आफूहरूको फरक मत रहेको बताएका हुन्।
अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटनको विरोध गर्दै पुनर्स्थापनाको मुद्दा पार्टीले अघि बढाउने गरी राजनीतिक प्रतिवेदन पेस गरेका थिए र सोही प्रतिवेदन पारित भएपछि नेताहरू ज्ञवाली र शाक्यले विरोध गरेका हुन्।
ज्ञवाली र शाक्यले फरक मतका रूपमा प्रतिनिधि सभा पुनर्स्थापनाभन्दा पनि चुनावमा भाग लिनुपर्ने कुरा राखेका छन्।
सरकारले फागुन २१ गतेका लागि चुनाव घोषणा गरेकोले केन्द्रीय कमिटीले चुनावमा जाने निर्णय गर्नुपर्ने उनीहरूको भनाइ थियो।
केन्द्रीय समितिमा एक सय ५० जना हाराहारी केन्द्रीय सदस्यहरूले चुनावमा भाग लिनुपर्ने कुरा राखे पनि त्यसलाई नेतृत्वले बेवास्ता गरेको भन्दै आलोचना भएको छ।