नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकेर अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुतर्फ लागेका छन्।
शुक्रबार साँझ ललितपुरमा भएको केन्द्रीय कमिटी बैठकबाट अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित भएको थियो।
उक्त राजनीतिक प्रतिवेदनमा प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा आन्दोलनमा जाने कुरा समावेश रहेकोले नेताहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले फरक मत राख्दै चुनावमा भाग लिनुपर्ने माग गरेका थिए।
त्यसको केहीबेरपछि ओली बैठक कक्षबाट बाहिरिँदा पार्टीनिकट युवाहरूले 'केपी ओली, वी लभ यू' को नारा लगाएका थिए।
पत्रकारहरूले चुनावमा भाग किन नलिने भनेर सोधेको प्रश्नमा अध्यक्ष ओलीले जबाफ दिए- हामी आन्दोलनमा जान्छौं, नहुने चुनावमा कसरी भाग लिने?
सुशीला कार्की नेतृत्वको सरकार संविधानभन्दा बाहिरबाट बनेको र यसले निर्वाचन गराउन नसक्ने भन्दै एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाको बाटो रोजेको छ।
सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको आरोप पनि एमालेको छ।
केन्द्रीय समिति बैठकमा करिब १५० जना केन्द्रीय सदस्यले निर्वाचनमा भाग लिनुपर्ने धारणा राखेका थिए।
तर केन्द्रीय कमिटीले अध्यक्ष ओलीलाई माघमा हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि उम्मेदवारको टिकटमा हस्ताक्षर गर्नेलगायत जिम्मेवारी दिएको छ भने फागुन २१ मा हुने निर्वाचनमा भाग नलिने निर्णय गरेको छ।
साथै एमालेले ११ औं महाधिवेशन फागुन २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको छ।