हरेक निर्वाचनमा अन्तरघात गरेको भन्दै राजनीतिक दलहरूले पार्टी कार्यकर्ताहरूलाई कारबाही गर्ने लहर नै चल्छ।
मतदाता तहका कार्यकर्तालाई यसरी कारबाहीको डन्डा चलाउने दलहरूभित्र रहेका नेता तहका मतदाता नै घात–प्रतिघातमा संलग्न हुने गरेको तथ्य यस पटक राष्ट्रिय सभा निर्वाचनमा कोशीमा देखिएको छ।
'फ्लोर क्रस' गरेर अर्को दलका उम्मेदवारलाई मत दिने मात्रै होइन, यस पटक मतदानस्थलमा अनुपस्थित सांसदको मत अर्कैले हालेको समेत पाइएको छ।
आइतबार कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन सकिएर जब नतिजा आयो, एमाले–कांग्रेस गठबन्धनभित्र त्यसले अविश्वास चुल्याइदिएको छ।
यस पटकको निर्वाचनमा कोशीमा कांग्रेस र एमाले गठबन्धनमा थिए। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) एक्लै मैदानमा थियो। परिणाम सार्वजनिक हुँदा नेकपाका दुवै उम्मेदवारले कांग्रेस–एमाले गठबन्धनको उल्लेख्य मत तानेको तथ्य सार्वजनिक भयो।
राष्ट्रियसभामा प्रदेशसभाका सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने हुन्। दलहरूले ती सबै पदमा पार्टीका नेता तहका व्यक्तिलाई पठाएका हुन्छन्।
नेता तहका तिनै मतदाताले भने पार्टीले तोकेभन्दा फरक उम्मेदवारलाई मतदान गरेको पाइएको छ, त्यो पनि ठूलो संख्यामा।
कोशीमा महिला सदस्यतर्फ एमालेकी रोशनी मेचे फराकिलो मतान्तरसहित राष्ट्रिय सभामा पुगिन्। उनको जितसँगै मतगणनाको टेबलमा देखिएको अंकगणितले भने गठबन्धनभित्रबाट भएको फ्लोर क्रसको उल्लेख्य संख्या देखायो।
नेकपाकी उम्मेदवार नमिता न्यौपानेले आफ्नै दलको शक्तिभन्दा बाहिरको मत पनि बटुलिन्।
प्रदेशसभामा नेकपाका जम्मा १७ सांसद थिए। उनको खातामा २२ सांसदको मत देखियो। अर्थात् कांग्रेस–एमाले गठबन्धनका पाँच सांसदको मत नमिताले प्राप्त गर्न सफल भइन्।
स्थानीय तहमा कथा अझै रोचक बन्यो।
कोशीमा स्थानीय तहतर्फ नेकपाका ३६ जना मात्रै मतदाता थिए। यद्यपि नमिताले ५८ मत पाइन्।
यसको अर्थ गठबन्धनका २२ जना स्थानीय तहका प्रतिनिधिले नेकपा उम्मेदवारलाई मतदान गरेका छन्।
गठबन्धनको मत नेकपाका दलिततर्फका प्रतिस्पर्धी खेम सुन्दासले पनि बटुले। उनले २ हजार २७ मत प्राप्त गरेका छन्। उनलाई १८ जना प्रदेशसभा सदस्य र ५७ जना स्थानीय तहका प्रतिनिधिले मत दिएका थिए।
उनले कांग्रेस एमालेका एक जना प्रदेशसभा सदस्यको मत बढी पाए भने स्थानीय तहका २१ जना जनप्रतिनिधिको मत हात पार्न सफल बने।
कोशीमा राष्ट्रियसभा निर्वाचनमा यस्तो भएको पहिलो पटक होइन। पछिल्ला तीन वटा निर्वाचनमा लगातारजसो ठूलो संख्यामा फ्लोर क्रस हुँदै आएको छ।
अघिल्लो पटक कांग्रेस माओवादी गठबन्धन हुँदा कांग्रेसका कृष्णप्रसाद सिटौला जित्दा माओवादीकी चम्पा कार्की हारेकी थिइन्।
त्यसअघिको निर्वाचनमा एमालेका गुरू बराल र कांग्रेसका गोपाल बस्नेतको मत बराबरी हुँदा गोला तानेर बस्नेत विजेता बनेका थिए।
आइतबारको निर्वाचनमा क्रस भोटको चर्चा चलिरहँदा निर्वाचनको अर्को कुनाबाट एउटा अनौठो घटना बाहिर आयो — मत खसालिएको तर मतदाता नै अनुपस्थित!
कोशी प्रदेश निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार प्रदेशसभाका ९२ सांसदमध्ये ८७ जनाले मतदान गरेका छन्। ती ८७ जनाको सूचीमा राप्रपाका सांसद प्रेमराज थाम्सुहाङको नाम पनि थियो।
राप्रपा सांसद थाम्सुहाङ त्यही बेला काठमाडौंमा थिए। उनले आफू काठमाडौंमा भएको र मतदानमा सहभागी नभएको बताएका छन्।
उनले यस्तो दाबी गरिरहँदा निर्वाचन कार्यालयको प्रतिक्रिया भने ठिक विपरीत आएको छ। निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीका अनुसार नामबाट परिचयपत्र देखाएर मत हालिएको र त्यो मत गणनासमेत भइसकेको छ।
कोशी प्रदेशसभामा एमालेका ४० सांसद छन्। उनीहरूमध्ये सुनसरीकी सांसद यशोदा कायस्थ अहिले अमेरिकामा छिन्।
'उहाँ अमेरिका हुनुहुन्छ, उहाँ आउन पाउनुभएन,' एमालेका सांसद रेवतीरमण भण्डारीले भने।
यसरी एमालेका ३९ सांसद मात्रै मतदानमा सहभागी भए।
नेपाली कांग्रेसका २९ मध्ये उदयपुरकी लीला राई स्वास्थ्य समस्याका कारण अनुपस्थित रहेको दलका उपनेता हिमाल कार्कीले जानकारी दिए। यसरी कांग्रेसका २८ जनाले मात्रै मतदान गरे।
माओवादीका १३ र एकीकृत समाजवादीका ४ गरी १७ जना सांसद रहेको नेकपाका सबैले मतदान गरे भने जसपाकी एक्लो सांसद निर्मला लिम्बू पनि मतदानमा सहभागी भइन्।
राप्रपाका ६ मध्ये दलका नेता भक्तिप्रसाद सिटौला राजीनामा दिएर प्रतिनिधिसभामा उम्मेदवार बनेका छन्।
बाँकी रहेका ५ मध्ये सभामुख अम्बर विष्टले मात्रै मतदान गरेको र बाँकीले भाग नलिएको प्रमुख सचेतक सविना बजगाईंले जानकारी दिएकी थिइन्।
यसरी प्रदेशसभामा कुल खसेको मत ८६ हुनुपर्थ्यो। निर्वाचन कार्यालयको तथ्यांकले ८७ देखाएपछि राप्रपा सांसद थाम्सुहाङको मत अर्कैले हालेको देखिएको छ।
यसरी यस पटक कोशीमा भएको राष्ट्रियसभा निर्वाचनमा कतै गोप्य कोठामा गठबन्धनको रेखा मेटियो भने कतै एउटा मत मालिकबिनै बुथसम्म पुगेको देखियो।