प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आफ्नो कार्यशैलीमा क्रमश: सुधार थालेका छन्।
सरकार सञ्चालनको सय दिनसम्म सांसददेखि सर्वसाधारणसम्म दूरी राखेका बालेनले पछिल्लो समय विभिन्न व्यक्तिसँग भेटघाट तीव्र पारेका छन्।
कृषि व्यवसायी, जुत्ता चप्पल व्यवसायी, हस्तकला व्यवसायी, तयारी पोशाक व्यवसायी, सेयर बजारका लगानीकर्तादेखि उद्योगी व्यवसायीसँग भेटघाट गरेका छन्।
उनले संसदमा प्रतिनिधित्व गर्ने दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहित राप्रपा सांसदसँग छलफल गरेका छन्।
सुकुम्बासी व्यवस्थापनमा चुकेको, मिडिया हाउसका अगाडि गाडी पार्किङ गरेको र संवैधानिक निकायका पदाधिकारीलाई कार्यालयमा बोलाएर कर्मचारी पक्रन बाध्य पारेको घटनामा सत्तारूढ रास्वपाभित्रैबाट आलोचना बढेपछि प्रधानमन्त्री शाहले विस्तारै कार्यशैली बदलेका हुन्।
प्रधानमन्त्री शाहले नेपाल भ्रमणमा आएका भारतका लागि अमेरिकी राजदूत र दक्षिण एसिया हेर्ने सर्जियो गोरले भेट्नका लागि पत्र पठाउँदा समेत इन्कार गरेका थिए भने भारतीय विदेश सचिव विक्रम मिश्रीलाई भेट्न समय नदिएपछि उनको भ्रमण नै रोकिएको थियो।
प्रधानमन्त्री बालेनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारत भ्रमणको निम्तो दिन काठमाडौं आउन लागेका भारतीय विदेश सचिव विक्रम मिस्रीलाई भेट्न बालेनले अस्वीकार गरेपछि मिस्रीले भ्रमण नै रद्द गरेका थिए। प्रधानमन्त्री बालेनले अर्को मुलुकको प्रधानमन्त्री वा परराष्ट्रमन्त्री भन्दा तलका अधिकारीहरूलाई वान–अन–वान नभेट्ने नीति लिएका थिए।
गत वैशाख २८ गते हुने भनिएको भारतीय विदेश सचिव मिस्रीको नेपाल भ्रमण अन्तिम समयमा रद्द भयो।
तर पछिल्लो पटक प्रधानमन्त्री शाहले एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दासँग द्विपक्षीय भेट गरेका छन्। उनले केही दिनभित्रै भारत र चीनका लागि नेपाली राजदूतसँग पनि छुट्टाछुट्टै भेट गर्ने तयारी गरिरहेका छन्।
पछिल्लो पटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको चार घण्टा लामो संवादपछि प्रधानमन्त्री शाह अब सांसद र रास्वपा नेताहरूसँग पनि भेट्ने तयारीमा छन्। त्यतिमात्र होइन पत्रकारदेखि सामाजिक जीवनका अन्य व्यक्तिहरूसँग पनि भेट र परामर्श बढाउने तयारीमा शाह छन्।
प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार प्रधानमन्त्री र मन्त्रीहरूले अब सांसद र अन्य व्यक्तिहरूलाई भेट्ने, सुन्ने र समस्या समाधानमा लाग्नेछन्।
प्रतिनिधि सभाको बैठक झण्डै १५ दिनका लागि स्थगित भएपछि अहिले धेरै सांसदहरू निर्वाचन क्षेत्रमा गएका छन्।
'अब फर्किएर आएका सांसदहरूले ल्याएका जनताका कुरा मन्त्री र प्रधानमन्त्रीहरूले भेटेर छलफल गर्नुहुन्छ,' शाहले भने, 'समस्या समाधानको काम हुन्छ।'
राजनीतिक सल्लाहकार शाहका अनुसार प्रधानमन्त्रीको सचिवालयले अहिले मिडियामा आउने कतिपय समस्याहरूको पनि फलोअप गर्छ। त्यस्तो विषयमा तत्काल समाधान गर्न राज्यका निकायलाई ध्यानाकर्षण गराउँछ।
प्रतिनिधि सभामा सांसदहरूले उठाएका विषय सुन्न मन्त्रालयले जिम्मा दिएका कर्मचारीहरूसँग सल्लाहकार शाहले छलफल गरेका छन्।
साथै उनीहरूलाई सांसदहरूले सदनमा उठाएका विषयमा सम्बन्धित मन्त्रालय, मन्त्री, सचिव र प्रधानमन्त्री कार्यालयमा समेत जानकारी गराउन भनिएको छ।
'प्रधानमन्त्री कार्यालय सहित सदनमा उठाएको विषय सुन्न मात्र ३६ कर्मचारी खटिएका रहेछन्,' शाहले सेतोपाटीसँग भने, 'हामीले त्यसलाई टिपोट गर्ने र समाधानको पहल गर्ने अनि सांसदहरूलाई नै समाधानमा के भइरहेको जानकारी दिन भनेका छौँ।'
प्रतिनिधि सभा नियमावली अनुसार सांसदहरूले संसदमा उठाएका विषयमा मन्त्रीहरूले प्रत्येक सात दिनमा संसदमै जबाफ दिनुपर्छ। तर सांसदरूले शून्य, विशेष र आकस्मिक समयमा उठाएका विषयमा सरकारका मन्त्रीहरूले खासै जबाफ दिएका छैनन्।
'अब सांसदले उठाएका विषयमा संसदमा पनि मन्त्रीहरूले जबाफ दिनुहुन्छ,' सल्लाहकार शाहले भने, 'साथै मन्त्रालयका कर्मचरीहरूले पनि विषय उठाउने सांसदलाई फोन गरेरै उक्त विषयमा के भइरहेको जानकरी दिनुहुन्छ।'
सल्लाहकार शाह प्रधानमन्त्रीको बालेनको कार्यशैली फेरिएको भन्दा पनि यसअघि सय दिनको कार्यभार तोकेर काममा लागेका कारण प्रधानमन्त्रीले धेरै मानिससँग छलफल गर्न नभ्याएको बताउँछन्।
प्रधानमन्त्री कार्यालयले सांसदहरूले उठाएको विषय समाधानका लागि सांसद समन्वय शाखा नै बनाएर काम थालेको शाहले बताए।
'अब निजी क्षेत्रको समस्या समाधानका लागि पनि छुट्टै शाखा बनाउने विषयमा हामी परामर्श गरिरहेका छौं,' उनले भने।
प्रधानमन्त्री शाहले अहिलेसम्म संसदको प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग भेटेर छलफल गरेका छैनन्। सरकारकै मन्त्रीहरूसँग समेत उनको छलफल कम छ। मन्त्रीहरूले समेत प्रधानमन्त्रीको सचिवालयसँग मात्र छलफल गरेर फर्कनुपर्ने अवस्था थियो।
तर प्रधानमन्त्री शाहका सल्लाहकार शाह भने प्रधानमन्त्रीले मन्त्रीहरूसँग भेट नगरेको भन्ने स्वीकार गर्दैनन्।
'अर्थमन्त्री र प्रधानमन्त्रीको दुरी बढेको भन्ने हल्ला आएको छ। तर प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेट भइरहेको छ। प्रत्येक पटक मन्त्रिपरिषद्को बैठक लगत्तै दुबै जनाबीच १५ मिनेटदेखि आधा घण्टा छलफल भएको हामीले देखेका छौँ,' शाहले सेतोपाटीसँग भने, 'प्रधानमन्त्रीले अब राजनीतिक भेटवार्ता पनि बढाउनुहुन्छ।'
प्रधानमन्त्री शाहले रास्वपा सभापति रवि लामिछानेलाई पनि यसअघि नै आफूले अब संसदमा ध्यान केन्द्रित गर्ने बताइसकेका छन्।
उनले पार्टी सञ्चालनमा भने खासै चासो राख्ने गरेका छैनन्।
रास्वपा सभापति लामिछानेको भेटमा प्रधानमन्त्री बालेनले 'पार्टीको बारेमा अपडेट' मागेका थिए। अनि लामिछानेलाई सरकारको कामको रिजल्ट देखिँदै जाने बताएका थिए।
'अब संसदतिर फोकस हुन्छु भनेर प्रधानमन्त्रीले सभापतिसँग भन्नुभएको रहेछ,' लामिछानेसँग भेटेका रास्वपाका एक नेताले भने, 'प्रधानमन्त्रीलाई पनि सांसद र सरकारबीच दुरी बढेको महसुस भएको रहेछ।'