राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक च:मतिस्थित कार्यालयमा जारी रहँदा रास्वपा वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन शाहले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग भेटवार्ता गरेका छन्।
पार्टी वरिष्ठ नेता भए पनि प्रधानमन्त्री शाह रास्वपाको कुनै पनि बैठकमा सहभागी हुने गरेका छैनन्।
बिहीबार प्रधानमन्त्री बालेन र कुलमानको भेट मुख्यगरी भोटेकोशी बाढीका कारण जलविद्युत आयोजनामा फसेकाहरूको उद्धारमा केन्द्रित थियो।
घिसिङले लामो समय नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा काम गरेका थिए। त्यसैले उनको अनुभव सुन्न प्रधानमन्त्री शाहले कुलमानलाई डाकेका थिए।
कुलमानले पनि बाढीका कारण समस्यामा परेका जलविद्युत आयोजनाका विषयमा राहत प्याकेज घोषणा गर्नेसम्मको सुझाव दिए। तर चुनावअघि झण्डै एउटै पार्टीबाट राजनीति गर्न तस्सिएका बालेन र कुलमानबीच आज राजनीतिक विषयमा पनि कुराकानी भयो।
सिंहदरबारमा प्रधानमन्त्रीसँग भेटपछि कुलमानले सञ्चारकर्मीहरूलाई छलफलमा उठेका विषयमा प्रतिक्रिया दिएका थिए। पत्रकारहरूले बाढीपछिको उद्धार र राहतको विषयमा कुलमानले बोलेपछि, 'धन्यवाद' भनेका थिए।
तर कुलमानले थामिएर थपे – राजनीतिक विषयमा पनि राम्रो कुराकानी भयो।
कुलमानले यस विषयमा सञ्चारकर्मीसँग थप बोलेनन्।
सेतोपाटीसँगको कुराकानीमा भने कुलमानले चुनावअघि उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीसँगै मिलेर अघि बढ्ने सहमति तोडिएको प्रसंगदेखि कुराकानी भएको बताएका छन्।
'हिजो किन सहमति तोडियोदेखि अहिले के भइरहेको छ भन्नेसम्मको कुराकानी भयो', कुलमानले संक्षिप्त रूपमा सेतोपाटीसँग भने, 'पार्टीदेखि सरकार सञ्चालनका विषयम पनि कुरा भयो।'
उनले छलफलको राजनीतिक विषयबारे धेरै खुलेर बताउन चाहेनन्। तर आफूले सरकारलाई अघि बढ्न शुभकामना दिएको बताए। उनले पार्टीगत विषयमा पनि छलफल भएको उल्लेख गरे भने समय आएपछि मात्र त्यसबारे बताउने भनेका थिए।
'सरकार अघि बढोस्, विज्ञता र अनुभवका हिसाबले हामी सहयोग गर्न तयार छौँ भनेका छौँ', कुलमानले भने, 'आवश्यक पर्दा हामी साथ दिन्छौँ भनेका छौँ।'