काठमाडौं तराई फास्ट–ट्र्याकको सबभन्दा लामो सुरूङ 'ब्रेक थ्रु' भएको छ।
धेद्रेबाट महादेवटार जोड्ने झण्डै साढे ३ किलोमिटरको सुरूङ जोडिएको हो।
आयोजनासँग सम्बन्धित इन्जिनियर मंगललाल श्रेष्ठ सुरूङ ब्रेक थ्रु भएको जानकारी सामाजिक सञ्जाल फेसबुकमा दिएका छन्।
'बाढीले ल्याएको जीवन-मरणको दु:खको बेलामा एउटा सुखद् खबर छ। आज हामी संलग्न काठमाडौं तराई फास्ट ट्र्याक आयोजनामा पर्ने संलग्न काठमाडौं तराई फास्ट ट्र्याक आयोजनामा पर्ने ३.४८६ कि. मि. लामो धेद्रे-महादेवटार टनेलको सफलतापूर्वक ब्रेक थ्रु भएको छ,' श्रेष्ठले लेखेका छन्।
७१ किलोमिटर लम्बाई रहेको फास्ट ट्र्याकमा झण्डै ११ किलोमिटर सुरूङले ओगटेको छ।
योसँगै फास्ट ट्र्याकमा तीन वटा सुरूङ मार्ग ब्रेक थ्रु भएको छ।
यसअघि नै १ दशमलव ६९ किलोमिटरको धेद्रे सुरूङ र १ दशमलव ६२ किलोमिटरको लेनडाँडा सुरूङ ब्रेक थ्रु भएको थियो। यी तीन वटै ट्विन ट्युब टनेल फास्ट ट्र्याकको सुरूआती डिजाइनमा समेटिएका थिए।
तर पछिल्लो समय डिजाइन परिवर्तन गरी फास्ट ट्र्याकमा सुरूङको संख्या ७ पुर्याइएको छ।
महादेवटार सुरूङपछि सबभन्दा लामो चन्द्राम भीरमा निर्माणाधीन २ दशमलव २३ किलोमिटरको सुरूङ निर्माण प्रारम्भिक चरणमा छ।
त्यस्तै, १ किलोमिटरको देवीचौर सुरूङ र ३ सय ९० मिटरको सिसौटार सुरूङ पनि निर्माण केवल २० मिटर मात्र खनिएको छ। तर दुवै सुरूङ लम्बाइका हिसाबले छोटा भएकाले गति लिन सक्ने अवस्था छ।
त्यस्तै, मौरी भीरमा निर्माण हुने ५ सय ८३ मिटर लम्बाइको सुरूङको भर्खर मात्र खन्ने ठाउँ अर्थात् पोर्टल निर्माण भएको छ।
काठमाडौं तराई फास्ट ट्र्याकको शिलान्यास २०७४ साल जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले गरेका थिए।
यो आयोजना २०८३ चैत मसान्तभित्र सम्पन्न गर्ने गरी सेनाले जिम्मा पाएको थियो। तर पछिल्लो पटक आयोजनाको म्याद एकमुष्ठ ३ वर्ष थपिएको छ।
आयोजनाको खोकना क्षेत्रमा अझै काम सुरू हुन सकेको छैन। खोकना क्षेत्रबाट काठमाडौंको चक्रपथसम्म जोड्ने गरि फास्ट ट्र्याकको डिपिआर पुन: परिमार्जन गर्न लागिएको छ।
खोकना र पहाडी भूभागमा फास्ट ट्र्याक २५ मिटर फराकिलो हुने गरी निर्माण हुँदैछ। त्यस्तै तराईको भूभागमा २५ मिटर फराकिलो हुनेछ। आयोजनामा ८९ वटा पुल निर्माण गर्नुपर्नेछ। पुलको लम्बाई मात्र १२ दशमलव ९७ किलोमिटर रहेको छ। जसमध्ये केवल १३ वटा पुल निर्माण सम्पन्न भएका छन्।
नेपाली सेनाले फास्ट ट्र्याक विभिन्न १२ वटा टुक्रा बनाएर ठेक्का लगाएको छ। आयोजनाको काम अहिलेसम्म झण्डै आधा मात्र सकिएको छ। यो सडक निर्माणपछि काठमाडौंबाट तराई–मधेस केवल १ घण्टामा पुग्न सकिनेछ।