गुल्मीको छत्रकोट गाउँपालिकामा आगो निभाउने क्रममा एक जना घाइते भएका छन्।
छत्रकोट–२ का ७१ वर्षीय सूर्यबहादुर रजाली मंगलबार आगो निभाउने क्रममा घाइते भएको सशस्त्र प्रहरी बल नेपाल गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक नीवनकुमार खड्काले जानकारी दिए।
आगलागीबाट घाइते भएका रजालीको स्थानीय श्रृंगा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
छत्रकोटको ग्वाघा रानीवनदेखि लागेको आगोले पाँच वटा गोठ जलेका छन्।
छत्रकोट गाउँपालिका–२ डांग्रे बस्ने खीमा रजालीको दुईतले कच्ची गोठसमेत जलेर पूर्ण रूपमा नष्ट भएको छ। सोही ठाउँका दुर्गाबहादुर रजालीको गोठमा पनि आगलागी भएको छ। गोठमा आगलागी हुँदा एउटा बाख्रा जलेर मरेको छ।
आगलागीबाट छत्रकोटकै स्थानीयवासी रूपा बलाल र कुलबहादुर रजालीको कच्ची गोठ जलेको सशस्त्र बलका प्रहरी नायब उपरीक्षक खड्काले बताए।
आगलागी भएको जानकारी पाउनासाथ नेपाल प्रहरी र सशस्त्रको टोली तत्काल घटनास्थल पुगी स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ। जिल्लाका अधिकांश वन क्षेत्रमा दिनहुँ आगलागीका घटना बढ्दै जान थालेका छन्।