म्याग्दीस्थित धवलागिरि हिमालमा एक जना बेपत्ता भएका छन्।
साथै दुई जनाको सकुशल उद्धार गरिएको छ।
आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित छ।
धवलागिरि आधार शिविरमा आरोहीको सामान पुर्याएर फर्कने क्रममा शुक्रबार साँझ उनीहरू हिउँ पहिरोमा पुरिएका थिए।
हेलिकोप्टरमार्फत धवलागिरि आधार शिविर पुगेर फर्केका म्याग्दी दानाका इन्द्रसिंह शेरचनका अनुसार सोलुखुम्बुको सोलदूधकुण्ड नगरपालिका–१ नुथला फुलेली गाउँका २० वर्षीय अमृत राई बेपत्ता भएका हुन्।
अमृतसँगै बेपत्ता भएका सोही ठाउँका धिरज राई र अर्जुन राईको शनिबार शेर्पाहरूको टोलीले सकुशल उद्धार गरेर इटली आधार शिविरमा पुर्याएको शेरचनले बताए।
उनीहरू सेभेन समिट ट्रेक काठमाडौँबाट भरियाका रूपमा आधार शिविरमा आएका थिए।
उनीहरू जापानिज आधार शिविर नजिकै हिउँपहिरामा परेका थिए।