महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ मा आइतबार दिउँसो आगलागी हुँदा आठवटा घर खरानी भएका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी सरोज राईका अनुसार आइतबार दिउँसो अचानक स्थानीय गफार शेष, सतार शेष, सदरे शेष, अन्सारूल मोमिन, इलझारूल मोमिन, अतिम नदाफ, तालिम मोमिन र राजकिशोर मुखियाको घरमा आगलागी भएको हो।
आगलागीमा परी गफार शेषको घरमा पाँच लाख, सतार शेषको घरमा चार लाख, सदरे शेषको घरमा चार लाख, अन्सारूल मोमिनको घरमा दुई लाख ५० हजार, इलझारुल मोमिनको घरमा तीन लाख, अतिम नदाफको घरमा पाँच लाख, तालिम मोमिनको घरमा दुई लाख र राजकिशोर मुखियाको घरमा दुई लाख ५० हजार बराबरको क्षति भएको छ।
समयमा वारूणयन्त्र पुग्न नसक्दा आगलागी नियन्त्रणमा लिन नसकिएको पीडितहरूको गुनासो छ।
यता मटिहानी नगरपालिकामा वारूणयन्त्र नहुँदा समयमा आगलागी नियन्त्रणमा लिन नसकी ८ परिवारको सबैथोक जलेर खरानी भएको भन्दै स्थानीयवासी नगरपालिकाप्रति आक्रोशित भएका छन्।
आगलागी स्थानीयवासी राजकिशोर मुखियाको घरबाट सल्किएर विस्तारै आठजनाकै घरमा पुगेको र घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, नगदसहितका सबै सरसामान गरी २८ लाखको क्षति भएको बताइएको छ।
दिउँसो १२ देखि २ बजेसम्म भएको आगलागी जलेश्वर नगरपालिकाको वारूणयन्त्र, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा निभाइएको थियो।