काठमाडौंमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्दकुमार झाका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा साँझ हल्का वर्षा भएको छ।
रातिको समयमा पनि बदली र वर्षाको सम्भावना छ। त्यस्तै देशका पहाडी भेगमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुनाका साथै उच्च हिमाली क्षेत्रमा हल्का हिमपात भएको छ। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव छ।
प्री–मनसुन पनि सक्रिय रहेकाले बदली र वर्षा गराएको मौसमविद् झाले बताए।
उनले भने, 'प्री–मनसुन सक्रिय भएको छ। पश्चिमी वायुको प्रभाव पनि छ। समोबार दिउँसो पनि देशभर बदली रही पहाडी भेगमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ।'
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि सामान्यता मौसम सफा रहने छ।
देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
आइतबार काठमाडौंको अधिकतम तापक्रम २८ र न्यूनतम तापक्रम १३ डिग्री सेल्सियस छ।