शुक्लाफाँटा नगरपालिका– ८ धारापानीका साईमले धामीलाई खानेपानीकै चिन्ता छ। जेठको बढ्दो गर्मीसँगै खोलामा पानी सुक्दै गएपछि पानीको जोहो गर्न हम्मेहम्मे नै पर्छ।
‘गर्मीका बेला खोला सुक्दा पानी खोज्दै जानुपर्छ,’ उनले भने, ‘बर्सातका बेला धमिलो पानी बाध्य भएर पिउनुपर्छ, पानीको अर्को विकल्प नहुँदा ५६ वर्षदेखि खोलाकै पानी प्रयोगमा ल्याउँदै आएका छौं।
चुरेफेदीको धारापानी गाउँमा २२ परिवार बस्छन्।
०२४ सालभन्दा अगाडिदेखि नै धारापानीमा बस्ती बस्न थालेको हो। त्यहाँका बासिन्दानले त्यतिबेलादेखि नै धारापानी खोलाको पानी पिउन बाध्य छन्। नुहाइधुवाई र गाइवस्तुलाई खुवाउन पनि खोलाकै पानी प्रयोग गर्दै आइरहेका छन्।
‘खोलाको पानी सिधै पिउनु हाम्रो रहर होइन बाध्यता हो,’ स्थानीय बालाराम गौतमले भने, तर हिउँदमा त्यही खोलाको पानी पनि सुकेपछि प्रत्येक घरका एक जनाको काम पानी खोज्ने नै हुन्छ। वर्षायाममा धारापानी खोलामा धमिलो पानी आउँछ । त्यही धमिलो पानी पनि थिग्राएर पिउनुपर्ने वाध्यतामा छौं।’
उनका अनुसार दुषित पानी पिएर वर्षेनी दर्जनौं स्थानीय बिरामी पर्ने गरेका छन्। खानेपानी आयोजना निर्माणका लागि पटकपटक सम्बन्धित निकायमा पुगे पनि कार्य अगाडि बढ्न नसकेको उनको गुनासो छ।
‘गत वर्ष वडा कार्यायले खानेपानी आयोजना निर्माणका लागि कार्य अगाडि बढाए पनि गाउँसम्म पानी पुग्न सकेन,’ उनले भने, ‘थोरै बजेटले खानेपानी आयोजना निर्माणको कार्य अधुरो अपुरो रहेको छ।’
धारापानी गाउँमा विद्युत् पनि पुग्न सकेको छैन। स–साना बालबालिकालाई पढ्नका लागि बालविकास केन्द्र पनि छैन ।
गाउँमा विद्यालय नहुँदा पाँच किलोमिटर टाढाको विद्यालयमा बालबालिकालाई पढ्नका लागि पैदल पठाउनुपर्ने वाध्यता रहेको बताए। चुरेको दुर्गममा रहेको बस्तीमा अभावै अभाव रहेको मोहनसिंह धामीले बताए।
‘घुम्नका लागि टाढाटाढाबाट मानिसहरू आउँछन्, तर यहीँका मानिसहरूलाई शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतलगायतका आधारभूत सेवासमेत छैन,’ उनले भने।
वर्षौंदेखि चलनभोग गर्दै आएका धारापानी गाउँका बासिन्दाको जग्गाको स्वामित्व प्रदान गर्नका लागि जग्गा नापजाँच प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ रहेको छ। धारापानी गाउँलाई नगरपालिकासँग जोडनका लागि सडक पूर्वाधारका कार्य अगाडि बढाइएको उनले बताए।