प्रहरीले सप्तकोशीमा बेपत्ता भएका एक गोताखोर फेला नपरेको जनाएको छ।
शुक्रबार दिनभरि खोजी गर्दा पनि सशस्त्र प्रहरीका गोताखोर सुरज साउद फेला नपरेको सशस्त्र प्रहरीका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार ९ जना गोताखोरसहित १ सय ९ जनाको सुरक्षा फौजले खोजी गर्दा पनि साउद फेला परेनन्।
'सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालको कमान्डमा ९ जना गोताखोरसहित १ सय ९ जनाको सुरक्षा फौजले खोजी गर्दा पनि साउद फेला परेनन्,' उनले भने।
यस्तै, बेपत्ता भएका अर्का गोताखोर हरदेव राजवंशीको शुक्रबारै शव फेला परिसकेको थियो। उनको झापामा दाहसंस्कारको तयारी भइरहेको छ।
बिहीबार दिउँसो सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी नदीमा मनसुनजन्य विपद्को पूर्वतयारी स्वरूप प्रदेशस्तरीय विपद् सेमुलेशन अभ्यास क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए।
दुवै जनाले २०८० र ०८१ सालमा गोताखोर तालिम पूरा गरेका थिए। त्यसयता उद्धारका लागि विभिन्न ठाउँमा खटिएका पनि थिए।