मनसुन नेपाल भित्रिएको १० दिन बितिसक्दा पनि कोशी प्रदेशबाट विस्तार हुन सकेको छैन।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ।
देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ।
पछिल्लो तीन घन्टामा कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटपुट वर्षा भएको छ।
आइतबार दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहने पूर्वानुमान छ।
त्यस्तै कोशी प्रदेशका थोरै स्थानहरू तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना पनि रहेको छ।
आइतबार राति कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने पूर्वानुमान छ।
राति कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा राति पनि हल्का वर्षा/ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।