अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि लागू हुनेगरी अफगानिस्तान र अन्य ११ देशका नागरिकहरूलाई अमेरिका यात्रा गर्न रोक लगाएका छन्।
गत हप्ता यसबारे घोषणा गर्दा सन् २०२१ मा अफगानिस्तानबाट अमेरिकी सेना फर्किनुअघि अमेरिकी सरकार वा सेनाका लागि दोभासे वा अरू हैसियतमा काम गरेकाहरूका लागि दिइएको अफगान विशेष आप्रवासी भिसाका (एसआइभी) हकमा भने सो प्रतिबन्ध लागू नहुने बताएका थिए।
यसले ज्यान जोखिममा राखेर अमेरिकाका लागि काम गरेका अफगानीहरूलाई केही राहत भएको छ। तर पनि ट्रम्पले दोस्रो कार्यकालमा चालेका अरू कदमका कारण उनीहरूलाई तनाव भएको छ।
अफगानीहरूका लागि अमेरिकामा प्रवेश गर्ने धेरै आप्रवासन उपायहरू भए पनि ट्रम्प सरकारका कारण तीमध्ये लगभग सबै प्रभावित भएको भनेर अमेरिकी मिडिया सिएनएनले लेखेको छ।
भिसा आवेदनमा सहयोग गर्न स्थापना गरिएका सेवा र कार्यालयहरूमा गरिएको कटौतीका कारण हजारौं अफगानीहरू अनिश्चिततामा छन्।
शरणार्थीको हैसियतका लागि योग्य ठानिएकाहरू पुनर्वास प्रयासहरू लगभग पूर्ण रूपमा बन्द हुँदा प्रभावित भएका छन्।
अमेरिकामा अस्थायी संरक्षित हैसियत (टिपिएस) ट्रम्पले बन्द गरेकाले सो कार्यक्रम अन्तर्गत बसिरहेकाहरूले पनि देश छोड्नुपर्ने हुन सक्छ।
पछिल्लो यात्रा प्रतिबन्धले एसआइभी बाहकहरूलाई छुट दिए पनि अफगानिस्तानमा अमेरिकाको झन्डै दुई दशक लामो युद्धका क्रममा अमेरिकी सरकारलाई सहयोग गरेका धेरै अफगानी त्यसका लागि योग्य ठहरिँदैनन्।
सो सुविधा कम्तीमा एक वर्ष अमेरिकासँग वा अमेरिकाको तर्फबाट काम गरेका व्यक्तिहरूका लागि हो।
उदाहरणका लागि केहीले कम्तीमा एक वर्ष काम नगरेको हुन सक्छन्। सो अवधि पूरा गरे पनि केही प्राविधिक रूपमा अमेरिकी सरकारका लागि वा तिनको तर्फबाट काम गरेको परिभाषाभित्र नपरेको हुन सक्छन्।
उनीहरूका साथै अमेरिकासँग कुनै न कुनै सम्बन्ध भएका उनीहरूका परिवारका सदस्यहरू पनि तालिवान सरकारको प्रतिशोधको जोखिममा छन्।
एसआइभीका लागि दिइएको छुट स्वागतयोग्य भए पनि सरकारको अन्य कटौती र नीति परिवर्तनहरूले यसलाई कमजोर बनाएकाले यो व्यवहारमा त्यति प्रभावकारी नहुने अभियन्ताहरूले बताएका छन्।
'यो छुटको समस्या के हो भने, यो एक प्रकारले भ्रामक छ। किनकि सरकारले छुट्टै रूपमा अफगान पुनर्वास प्रयासहरूको समन्वयक कार्यालयलाई विघटन गर्दैछ। उनीहरूले त्यो कार्यालयलाई जुलाई १ सम्ममा बन्द गर्दैछन्,' अमेरिकी विदेश मन्त्रालयका एक पूर्वअधिकारीले भने।
ती पूर्वअधिकारीका अनुसार सरकारले 'इन्ड्युरिङ वेलकम' कार्यक्रम पनि बन्द गर्दैछ।
यो कार्यक्रमले एसआइभी आवेदकहरूलाई तेस्रो देशमा गएर आप्रवासन प्रक्रिया पूरा गर्न दिन्छ। अफगानिस्तानमा अमेरिकाको कूटनीतिक उपस्थिति नभएकाले आवेदकहरूले अर्को देशमा भिसा अन्तर्वार्ता पूरा गर्नुपर्छ।
'एसआइभीका लागि छुट छ भन्ने कुरा सुन्दा राम्रो लाग्छ र हामीलाई एसआइभीका लागि छुट आवश्यक पनि छ। तर उनीहरूलाई यहाँ ल्याउन र अमेरिकामा जीवन सुरू गर्न सहयोग गर्ने संरचना पनि चाहिन्छ,' लामिया अफगान फाउन्डेसनका संस्थापक अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल जोन ब्राडलीले सिएनएनसँग भने।
एसआइभी प्राप्त गरेका धेरै अफगानीहरूले सिएनएनसँग कुरा गर्दै उनीहरूका परिवारका सदस्यहरू र साथीहरू अझै अफगानिस्तान वा पाकिस्तानजस्ता तेस्रो देशमा रहेको बताएका छन्।
संयुक्त राष्ट्रसंघका अनुसार पाकिस्तानले लाखौं शरणार्थीहरूलाई अफगानिस्तान फर्काएको छ।
एसआइभीका लागि ट्रम्पले छुट दिए पनि आफ्नो परिवारका सदस्यहरू अमेरिका आउने प्रक्रियामा कस्तो प्रभाव पार्छ भन्नेबारे अझै पनि अनिश्चितता रहेको डर व्यक्त गरे।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)