आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि छनोटमा परेका म्यादी प्रहरीलाई आइतबारदेखि तालिम दिन सुरू गरिएको छ।
नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर एक लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गरेको थियो।
गत पुस २५ गतेदेखि माघ १ गतेसम्म ७७ वटै जिल्लामा दरखास्त दिन मिल्ने गरी खुलाइएको आवेदनमा फारम भरी छनोटमा परेकाहरूलाई प्रहरीले आइतबारदेखि तालिममा सहभागी बनाएको हो।
रूपन्देहीमा पनि जिल्ला प्रहरी कार्यालयसँगै इलाका र वडा प्रहरी कार्यालयमार्फत छनोटमा परेका म्यादी प्रहरीलाई तालिम सञ्चालन गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार रूपन्देहीका अनुसार रूपन्देहीमा ४ हजार ४९७ जना म्यादी प्रहरी भर्ना भएका छन्।
तीमध्ये १ हजार ३४ जना महिला छन्। ती सबैलाई आइतबारदेखि लागू हुने गरी ४० दिनका लागि म्यादी प्रहरीमा भर्ना गरी तालिम सुरू गरिएको छ।
इलाका प्रहरी कार्यालय बुटवलमा मात्र ४५७ जनालाई तालिम सुरू गरिएको प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए। २५५ जना पुरूष र २०२ जना महिला गरी ४५७ जनालाई निर्वाचन सम्बन्धी पाठ्यक्रमअनुसार आन्तरिक तथा बाह्य प्रशिक्षण सुरू गरिएको उनले बताए।
यसरी भर्ना गरिएका म्यादी प्रहरीलाई १० दिनसम्म आन्तरिक र बाह्य प्रशिक्षण दिइने श्रीवास्तवले बताए।
‘बाह्य प्रशिक्षणमा हिँडाउने, दौडाउने र उभिन अभ्यस्त बनाउने हुन्छ भने आन्तरिक प्रशिक्षणमा निर्वाचनमा खटिँदा अपनाउनु पर्ने आचारसंहिता र जिम्मेवारीबारे प्रशिक्षण गरिन्छ,’ प्रहरी नायब उपरीक्षक श्रीवास्तवले भने।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गणेश सापकोटाका अनुसार अन्य जिल्लामा जस्तै रूपन्देहीमा पनि आइतबारदेखि नै लागू हुने गरी म्यादी प्रहरीले नियुक्ति पाएका हुन्।
‘आजदेखि तालिममा सहभागी भएका छन् भनेपछि उनीहरूको कार्य अवधि पनि आजदेखि ४० दिनसम्म रहन्छ,’ प्रहरी नायब उपरीक्षक सापकोटाले भने।
प्रहरीले साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहेको, आतंककारी तथा विध्वंसात्मक संगठनको सदस्य नरहेको १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको महिला पुरूषलाई म्यादी प्रहरीमा भर्ना गरेको जनाएको छ।
यसरी भर्ना गरिएका निर्वाचन प्रहरीले नेपाल प्रहरी जवानको सुरूआती तलब स्केल सरह प्रतिदिन आठ सय ६९ रुपियाँ ४० पैसाका दरले पारिश्रमिक र सम्बन्धित जिल्लाको नेपाल प्रहरीले पाए सरहको दररेट अनुसार खाद्यान्नबापतको रकम प्राप्त गर्ने छन्।
त्यस्तै निर्वाचनमा खटिनेहरूलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरूप एक पटकका लागि प्रतिव्यक्ति एकमुष्ट ८ सय ४६ रुपैयाँका दरले तयारी खर्च उपलब्ध गराइने छ भने चार दिनका लागि प्रतिदिन तीन सयको दरले एकमुष्ट १ हजार २ सय रुपैयाँ खाजा खर्च उपलब्ध हुनेछ।
त्यसैगरी नेपाल प्रहरीको प्रधान कार्यालयबाट तोकिए बमोजिमको दररेटका आधारमा पोसाकबापतको रकम र कर्तव्य पालनको सिलसिलामा घाइते भएमा स्वयंले र मृत्यु भएको खण्डमा निजको नजिकको हकदारले नेपाल सरकारबाट तोकिए बमोजिमको क्षतिपूर्ति समेत प्राप्त गर्ने छन्।