नेपालका ११ वटा उपमहानगरपालिकामध्ये उत्कृष्ट बनेको बुटवल उपमहानगरपालिकाले आज आफ्नो ६७ औँ स्थापना दिवस मनाउँदै छ।
तर, विगतका स्थापना दिवसहरू मनाउँदा जनप्रतिनिधि, कर्मचारीहरू र नगरवासीहरूका अनुहारमा जुन उमंग र उल्लास देखिन्थ्यो यस वर्षको स्थापना दिवसमा भने त्यस्तो उमङ्ग र उल्लास देखिँदैन।
बुटवल उपमहानगरपालिकाले यस वर्ष आगजनीले कालो पोतिएका भित्ता तथा महत्त्वपूर्ण दस्ताबेज र कागजात जलाइएको खरानीको थुप्रोमाथि उभिएर स्थापना दिवस मनाउँदै छ। स्थापना दिवसमा उल्लासको सट्टा गहिरो सन्नाटा र खरानीको गन्ध व्याप्त छ।
२०१६ साल फागुन ३ गते नगर पञ्चायतको रूपमा स्थापना भएको बुटवल नगरपालिका २०७१ साल मंसिर १६ गते उपमहानगरपालिकामा स्तरोन्नति भएको थियो। स्थापना हुँदा पुरानो बटौली बजारमा रहेको नगरपालिकाको कार्यालय २०३५ सालमा अहिले कार्यालय रहेको परिसरको उत्तरतर्फ भवन निर्माण गरी सारिएको थियो।
त्यो भवन पनि पुरानो र जीर्ण बन्नुको साथै २०७२ सालको भूकम्पले चर्किएपछि मर्मत गरेर कार्यालय सञ्चालन गरिएको थियो।
चर्किएको भवनमा कार्यालय सञ्चालन गर्नु जोखिमपूर्ण बनेपछि २०७७ साल असार ६ गते ठेक्का सम्झौता गरी आधुनिक सुविधा सहितको भवन निर्माण थालिएको थियो।
लिफ्ट सहितको चार तलाको उक्त भवन ५४ करोड ७८ लाख ४५ हजार ३८१ रुपैयाँको लागतमा निर्माण सम्पन्न गरी २०७८ साल माघ ५ गतेदेखि नयाँ भवनबाट सेवा सञ्चालन गरिएको थियो।
आधा अर्ब बढी रकम खर्चिएर निर्माण गरिएको भवन सेवा सञ्चालन गरिएको साढे तीन वर्षमै आगजनी र तोडफोडले ध्वस्त पारिएपछि अहिले भवन खण्डहर बनेको छ।
-1771135712.jpg)
देशकै सर्वोत्कृष्ट उपमहानगरको पदक चुमिरहँदा जेनजी आन्दोलनको नाममा गरिएको विध्वंसको राँकोले यसको गौरवलाई कुरूप बनाइदियो। आफ्नो स्थापना दिवस मनाउँदै गर्दा खुसीयाली साटासाट गर्ने कि गुमेको संरचनामा आँसु झार्ने? यो प्रश्नले जनप्रतिनिधि, कर्मचारी र नगरवासी सबैलाई पिरोलिरहेको छ।
उपमहानगरपालिकाको प्रशासकीय भवन मात्र नभई बुटवलको गौरवको प्रतीकको रूपमा निर्माण गरिएको त्यही भवनका भित्ताहरू डढेर अहिले काला भएका छन्।
भवनभित्र रहेका महत्त्वपूर्ण कागजात, दस्ताबेज र महँगा फर्निचर जलेर खरानी बनेका छन्। आगजनीको तातो भुङ्ग्रोले भुइँमा बिछ्याइएका टायल र मार्बलहरू उप्किएका छन्।
उपमहानगरपालिकाको मूल ढोकाबाट भित्र प्रवेश गर्ने बित्तिकै क्षतविक्षत संरचना र खरानीको थुप्रोले जोकोहीको मन चसक्क पारिदिन्छ। मूल ढोकाको बायाँतर्फ राष्ट्रिय वाणिज्य बैंकको एक्स्टेन्सन काउन्टर छ।
तर, त्यहाँ अहिले न त बैंकका कर्मचारी छन् न त सेवाग्राहीको लाइन छ। छ त केवल खरानीको ठूलो थुप्रो। आगजनीले बैंकका कागजात, कम्प्युटर र मेसिनहरू ध्वस्त बनाइदिएपछि बैंकले अझैसम्म त्यहाँ आफ्नो काउन्टर पुनः स्थापना गर्न सकेको छैन।
नगरका सूचना र गतिविधिहरू प्रदर्शनका लागि सेवाग्राही प्रतीक्षा कक्षको भित्तामा राखिएको एलइडी स्क्रिन क्षतविक्षत अवस्थामा छ।
आगजनी र तोडफोडका चिन्हहरूले भवनको सौन्दर्यलाई गिज्याइरहेको भान हुन्छ। भुइँ तलामा सबभन्दा अगाडि रहेको नक्सा शाखा सबभन्दा धेरै ध्वस्त छ। हजारौं नगरवासीका घरका सपना र अभिलेखहरू जलेर भुइँमा खरानीको थुप्रो बनेको छ। आगजनीले कागजात र फर्निचर मात्र जलाएको छैन, भवनका पिल्लर र सिलिङ समेत कामै नलाग्ने गरी चर्काएको छ। प्राविधिक रूपमा यो खण्ड अहिले जोखिमपूर्ण बनेको छ। जसका कारण आगजनी भएको लामो समय बितिसक्दा पनि नक्सा शाखाको सेवा सञ्चालन हुन सकेको छैन।
बुटवलको इतिहास आफैमा संघर्ष र सफलताको कथा हो। २०१६ सालमा बुटवल नगर पञ्चायतको रूपमा स्थापना भएको यो नगरले ६७ वर्षको यात्रामा धेरै आरोह/अवरोह पार गरेको छ र विकासका मानकहरूमा आफूलाई सधैं अब्बल साबित गरेको छ। कार्यसम्पादन क्षमताको आधारमा बुटवलले पटक पटक उत्कृष्ट बन्ने अवसर पाएको छ।
उज्यालो सहर र सफा बुटवलको अवधारणालाई साकार पार्दै शिक्षा, स्वास्थ्य र पूर्वाधारमा देशका अन्य स्थानीय तहका लागि मोडल बनिरहेको बुटवललाई आगजनी र तोडफोडले धक्का पुर्याएको छ। क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि पुनः करोडौँ रुपैयाँ आवश्यक पर्नेछ, जुन रकम नगरको विकासका अन्य आयोजनामा खर्च हुन सक्थ्यो।
आगजनीले भौतिक संरचनामा भन्दा ठूलो क्षति कार्यालयभित्र रहेका दस्ताबेज र कागजात नष्ट हुँदा पुर्याएको छ। आगजनीको सबभन्दा ठूलो मार सर्वसाधारण नागरिकमा परेको छ। विशेष गरी नक्सा शाखाको काम ठप्प हुँदा नयाँ घर बनाउन चाहने वा जग्गा व्यवस्थापन गर्न चाहने नगरवासीहरू मर्कामा परेका छन्।
बुटवल केवल एउटा सहर मात्र होइन, यो पश्चिम नेपालको आर्थिक र राजनीतिक केन्द्र पनि हो। ६७ वर्षको इतिहासमा यसले धेरै पटक आफूलाई पुनः स्थापित गरेको छ। आज खरानीको थुप्रोमा उभिएर स्थापना दिवस मनाउँदै गर्दा बुटवलका अगाडि क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र नागरिकको भरोसा स्थापित गर्ने दुई वटा चुनौती छन्।
विगतका वर्षहरूमा भव्य समारोह सहित स्थापना दिवस मनाइँदै आएको उपमहानगरपालिकाले यस वर्ष आगजनी र तोडफोडपछिको क्षति र निर्वाचन आचारसंहिताको कारण सामान्य कार्यक्रम सहित स्थापना दिवस मनाउन लागेको हो।
-1771135748.jpg)
साढे ६ दशकमा बुटवलको नेतृत्व
२०१६ सालमा स्थापना हुँदा बुटवल नगर पञ्चायतको नेतृत्व मुन्नीलाल शाक्यले गरेका थिए।
शाक्यपछि ओमशंकर श्रेष्ठले चार वर्ष र परिक्षितप्रसाद लाकौलले दुई वर्ष बुटवलको नेतृत्व गरे। त्यसपछि दुई कार्यकाल सरस्वतीप्रसाद शेरचन, चार कार्यकाल हरिबहादुर सिंह तथा सूर्यलाल श्रेष्ठ र बृजमान श्रेष्ठ एक एक कार्यकाल बुटवलको प्रधानपञ्च भए।
२०४६ सालमा प्रजातन्त्र पुनः स्थापनापछि २०४९ सालमा भएको पहिलो स्थानीय चुनावमा सूर्यप्रसाद प्रधान नगरप्रमुख बने भने २०५४ सालको निर्वाचनमा भोजप्रसाद श्रेष्ठ नगरप्रमुख बने।
२०६० सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारबाट पुनाराम पोखरेल नगरप्रमुख मनोनीत भए भने २०६१ साल माघ १९ पछि ज्ञानेन्द्र शाहको सरकारले गराएको चुनावमा अन्य दलहरू सहभागी नभएपछि एक्लै उम्मेदवारी दिएका रूपसिंह थापा केही समयको लागि नगरप्रमुख बनेका थिए।
पछि लोकतन्त्र स्थापना पछिको सरकारले ज्ञानेन्द्र शाहको सरकारले गराएको निर्वाचनलाई नै खारेज गरेपछि थापा पदमुक्त भएका थिए।
१४ वर्ष जनप्रतिनिधि विहीन बनेको बुटवल उपमहानगरपालिकामा २०७४ सालमा भएको पहिलो स्थानीय तहको निर्वाचनबाट नगरप्रमुखमा शिवराज सुवेदी र उपप्रमुखमा गुमादेवी आचार्य निर्वाचित भई पाँच वर्षे कार्यकाल पूरा गरेका थिए।
२०७९ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट नगरप्रमुखमा खेलराज पाण्डे र उपप्रमुखमा सावित्रीदेवी अर्याल निर्वाचित भई हाल जनप्रतिनिधिको रूपमा काम गर्दै आएका छन्।
यस वर्ष स्थापना दिवसको अवसरमा उपमहानगरपालिकाले नगर क्षेत्रमा सप्ताहव्यापी सरसफाइ अभियान सञ्चालन गरेको थियो। नगर प्रमुख खेलराज पाण्डेयले निर्वाचन आचारसंहिताका कारण यस वर्ष संक्षिप्त तर सन्देशमूलक कार्यक्रम गरी स्थापना दिवस मनाइने बताए।