बुटवलमा गर्भपतन गराउने क्रममा एक महिलाको ज्यान गएको छ।
पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर २ घर भई हाल तिलोत्तमाको शंकरनगरमा बस्दै आएकी २९ वर्षीय गीता पाण्डेको गर्भपतन गराउने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
मृतकका परिवारले स्वास्थ्य क्लिनिक र स्वास्थ्यकर्मीको लापरबाहीका कारण गीताको मृत्यु भएको भन्दै कारबाहीका लागि प्रहरीमा उजुरी दिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पक्राउ पर्नेमा खत्री पोलिक्लिनिककी सन्ध्या बस्नेत, जोनल क्लिनिककी निलम घर्ती मगर र इन्दु लेखा क्लिनिकका खगेन्द्र पाण्डे छन्।
मृतक गीता र प्रकाश पाण्डेका यसअघि ५ वर्षका छोरा छन्। गर्भमा दोस्रो बच्चा बसेपछि पाण्डे दम्पती गर्भ परीक्षणको लागि गत चैत २७ गते बुटवलको इँटाभट्टीमा रहेको खत्री नर्सिङ होम पुगेका थिए।
परिवारका अनुसार परीक्षणको क्रममा गर्भमा करिब १२ हप्ताको भ्रूण रहेको र भ्रूण असामान्य रहेको भन्दै नर्सिङ होमले गीतालाई गर्भपतन गराउन सुझाव दिएको थियो। त्यसपछि उनीहरूलाई वैशाख ४ गते नर्सिङ होममा बोलाइएको थियो। स्वास्थ्यकर्मीले बोलाए अनुसार उनीहरू ४ गते नर्सिङ होममा जाँदा डा. डिबी खत्री नभएको भन्दै स्वास्थ्यकर्मीहरूले फेरि ५ गते बोलाएका थिए।
५ गते पनि उनीहरू नर्सिङ होम पुगेपछि त्यहाँका कर्मचारीले त्यहाँ जाँच गरिएको प्रेस्किप्सन कार्ड सहित गीतालाई जोनल फार्मेसीमा सिफारिस गर्छन्। जोनल फार्मेसीमा गएका उनीहरूलाई गर्भपतनका लागि १६ हजार रुपैयाँ लाग्ने भनिएको थियो। त्यसपछि उनीहरू २ हजार रुपैयाँ पेस्की दिएर भोलि आउन भन्दै त्यहाँका स्वास्थ्यकर्मीले औषधी दिएर घर पठाएका थिए।
अघिल्लो साँझ र बिहान स्वास्थ्यकर्मीले दिएको एक एक गोली औषधि सेवन गरेकी गीता ६ गते फेरि जोनल फार्मेसीमा पुगेकी थिइन्। फार्मेसीमा पुगेपछि पुनः अर्को गोली औषधि खान दिएर दुई घण्टा आराम गर्न लगाएका थिए।
श्रीमान प्रकाशका अनुसार औषधि सेवनपछि गीतालाई जोनल फार्मेसीबाट इन्दु लेखा क्लिनिकमा लगिएको थियो। उनी त्यही अचेत भइन्। अचेत अवस्थाकी गीतालाई इन्दु लेखा क्लिनिकबाट लुम्बिनी सिटी अस्पताल लगिएको थियो। लुम्बिनी सिटी अस्पतालले गीतालाई तत्काल मृत घोषित गरिदियो।
प्रकाशले गर्भमा रहेको भ्रूण असामान्य छ भनी गर्भपतन गर्ने नाममा क्लिनिकहरू मिलेर आफ्नो श्रीमतीको हत्या गरेको आरोप लगाएका छन्।
प्रकाशले खत्री नर्सिङ होमको सिफारिसमा जोनल फार्मेसीमा पठाइएको र गर्भपतन गराउन भन्दै सोही फार्मेसीले चलाएको औषधिका कारण श्रीमतीको मृत्यु भएको दाबी गरे।
जोनल फार्मेसीले चलाएको औषधीले गर्भपतन नभएपछि छेवैमा रहेको ईन्दुलेखा क्लिनिकमा लगिएको र त्यहाँ डा. सतिश रुपाखेतीले गर्भपतन गराउने प्रयास गरेको प्रकाशले बताए।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले मृतकका श्रीमानले घटनाबारे जाहेरी दर्ता गराएपछि तीन जनालाई पक्राउ गरी अनुसन्धान सुरू गरिएको बताए।
प्रहरी नायब उपरीक्षक श्रीवास्तवले आवश्यक परे अन्य चिकित्सकलाई पनि अनुसन्धानका लागि ल्याइने बताए।
खत्री नर्सिङ होममा डा. डिबि खत्री, जोनल फार्मेसीमा डा. विष्णु गौतम र इन्दु लेखा क्लिनिकमा डा. सतिश रुपाखेतीले उपचार सेवा दिँदै आएका छन्। उक्त दिन डा. गौतम जोनल फार्मेसीमा नभएको कारण गीतालाई इन्दु लेखा क्लिनिकमा रिफर गरिएको स्रोतले जनाएको छ।
गीताको शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ भने उनका आफन्तले खत्री नर्सिङ होममा ताला लगाइदिएका छन्।