बुटवलमा गर्भवती गीता पाण्डे मृत्यु घटनामा नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने भएको छ।
१२ हप्ताको गर्भमा रहेको भ्रुण असामान्य रहेको भन्दै स्वास्थ्यकर्मीहरूले गर्भपतन गराउने क्रममा गीताको मृत्यु भएको थियो।
गीताको मृत्यु भएपछि उनका आफन्तले बुटवलको खत्री नर्सिङ होम, जोनल क्लिनिक र इन्दुलेखा क्लिनिकको लापरबाहीका कारण मृत्यु भएको भन्दै घटनामा संलग्नहरूलाई कारबाहीको माग गरेका छन्।
मृतकका आफन्तले नेपाल मेडिकल काउन्सिलमा समेत उक्त घटनाको छानबिनका लागि निवेदन दिएका छन्। पीडित परिवारको निवेदनपछि काउन्सिलले समेत उक्त घटनालाई गम्भीर रूपमा लिँदै समिति गठन गरेर छानबिन गर्ने जनाएको हो।
काउन्सिलका रजिस्टार डा. सतिश देउले गर्भपतन गराउने क्रममा महिलाको मृत्यु भएको विषयलाई आफूहरूले गम्भीर रूपमा लिएको र काउन्सिलले छानबिन गर्ने तयारी गरेको बताए।
'उक्त घटनालाई काउन्सिलले गम्भीर रूपमा लिएको छ, पीडित पक्षबाट पनि काउन्सिलले निष्पक्ष रूपमा छानबिन गरिदेओस् भनेर निवेदन दिनुभएको छ। अरू सदस्यहरूसँग छलफल गरेपछि समिति गठन गरेर छानबिनलाई अगाडि बढाउँछौं,' डा. देउले भने।
काउन्सिलका सदस्य डा. सम्राट पराजुलीले विशेषज्ञ चिकित्सकको नेतृत्वमा छानबिन समिति गठन गरिने बताए।
‘हामी छलफल गर्दै छौं। घटना बुटवलमा भएकोले बुटवलभन्दा बाहिरका विशेषज्ञ चिकित्सकको नेतृत्वमा छानबिन समिति बनाउनुपर्छ भन्ने लागेको छ,’ डा. पराजुलीले भने।
पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर २ घर भई हाल तिलोत्तमाको शंकरनगरमा बस्दै आएकी २९ वर्षीय गीताको गर्भपतन गराउने क्रममा सोमबार मृत्यु भएको थियो।
मृतकका पति प्रकाश पाण्डेका अनुसार गीता दोस्रो पटक गर्भवती भएपछि नियमित रूपमा बुटवल इट्टाभट्टीमा रहेको खत्री नर्सिङ होममा गर्भ परीक्षण गराउँदै आएकी थिइन्। सोही क्रममा गत चैत २७ गते उनी परीक्षणका लागि नर्सिङ होममा गएकी थिइन्।
त्यहाँ भिडियो एक्स-रे गरेर हेर्दा गर्भको भ्रुण असामान्य देखिएपछि स्वास्थ्यकर्मीले गर्भपतन गराउने सुझाव दिएका थिए। गर्भपतनका लागि वैशाख ४ र ५ गते गते खत्री नर्सिङ होममा गएका उनीहरूलाई त्यहाँ जाँच गरिएको प्रेस्किप्सन कार्ड सहित जोनल फार्मेसीमा पठाइएको थियो। ५ गते नै जोनल फार्मेसीमा गएका उनीहरूलाई दुई खुराक औषधी दिएर ६ गतेका लागि बोलाइएको थियो।
अघिल्लो साँझ र बिहान स्वास्थ्यकर्मीले दिएको औषधी सेवन गरेकी गीता ६ गते फेरी जोनल फार्मेसीमा पुगेकी थिइन्। फार्मेसीमा पुगेपछि पुनः अर्को खुराक औषधी खान दिएर दुई घण्टा आराम गर्न लगाइएको थियो।
प्रकाशका अनुसार औषधी सेवनपछि गीतालाई जोनल फार्मेसीबाट इन्दुलेखा क्लिनिकमा लगिएको थिइ। उनी त्यही अचेत भएकी थिइन्। इन्दुलेखा क्लिनिकबाट लुम्बिनी सिटी अस्पतालमा अचेत अवस्थामै लगिएकी गीतालाई चिकित्सकले तत्काल मृत घोषित गरिदिएका थिए।
गीताको मृत्युपछि उनका परिवार र आफन्तले मंगलबार बिहानैदेखि गर्भपतनका लागि सिफारिस गर्ने खत्री नर्सिङ होम, जोनल फार्मेसी र इन्दुलेखा क्लिनिकका सञ्चालक र चिकित्सकलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका थिए।
गीताका पति प्रकाशले तिन वटै नर्सिङ होम, क्लिनिक र फार्मेसी तथा चिकित्सकहरूको लापरबाहीका कारण श्रीमतीको मृत्यु भएको बताएका छन्।
मृतकका परिवारले स्वास्थ्यकर्मीको लापरबाहीका कारण गीताको मृत्यु भएको भन्दै कारबाहीका लागि प्रहरीमा उजुरी दिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पक्राउ पर्नेमा खत्री नर्सिङ होमकी सन्ध्या बस्नेत, जोनल क्लिनिककी निलम घर्ती मगर र इन्दुलेखा क्लिनिकका खगेन्द्र पाण्डे रहेका छन्।
मृतकका परिवारले गर्भपतन गराउन खत्री नर्सिङ होमका डा. डिबी खत्री र इन्दुलेखा क्लिनिकमा कार्यरत डा. सतिश रुपाखेतीलाई पनि कारबाही गर्नुपर्ने माग गरेका छन्।
उनीहरूले मंगलबार साँझ खत्री नर्सिङ होममा ताला लगाइदिएका थिए। मृतक गीता र प्रकाश पाण्डेका यसअघि ५ वर्षका छोरा छन्। प्रहरीका अनुसार गीताको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ।