कैलालीको एक होटलमा मध्यराति भएको आगजनीमा परी एक जनाको मृत्यु भएको छ।
आगलागीमा परी डडेल्धुरा आलिताल गाउँपालिकाको गाङ्खेतकाका अन्दाजी ५० वर्षीय मिनबहादुर बोहराको जलेर मृत्यु भएको हो।
उनी कैलाली घोडाघोडी नगरपालिका – १ सुखड बजारको बिबेक रेष्टुरेण्ट एण्ड लजका हेल्पर हुन्। त्यो रेष्टुरेण्टमा मध्यरात आगलागी भएको थियो।
लामखुट्टे भगाउने उद्धेश्यले बालेको अण्डाको खाली क्यारेटबाट आगो सल्किएको जिल्लाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टले बताए।
इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएको थियो।
घोडाघोडी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको प्रयासले शनिबार बिहान साढे १ बजेपछि आगो नियन्त्रणमा आएको थियो।
मृतकको शव पोष्टमर्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ।