पछिल्लो एक सातादेखि रूपन्देहीको भैरहवा क्षेत्रको फोहोर उठ्न सकेको छैन।
सिद्धार्थनगर नगरपालिकामा व्यवस्थित डम्पिङ साइट नहुँदा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।
अहिले सिद्धार्थनगर क्षेत्रभित्र दैनिक १५ देखि २० टन सम्म फोहोर उत्सर्जन हुन्छ। तर, फोहोर व्यवस्थापनका लागि नगरमा उपयुक्त स्थान नहुँदा पछिल्लो ३३ वर्षदेखि मुख्य राजमार्गको छेउमै रहेको डन्डा नदी किनारले फोहोर थेग्दै आएको थियो।
गत वैशाख ४ गते सर्वोच्च अदालतले भने डन्डा नदी किनारमा फोहोर फाल्न नगरपालिकालाई रोक लगाइदियो।
नगरपालिकाले संरक्षण गर्नुपर्नेमा भैरहवा क्षेत्रकै प्राकृतिक सम्पदा र गहना भएको डन्डा खोला किनारमा फोहोर फालेर पानीको स्रोतलाई प्रदूषित बनाइएको भन्दै स्थानीयबासीले पटक पटक फोहोर फाल्न अवरोध गर्दै आएका थिए।
हरेक पटक फोहोर व्यवस्थापनको वैकल्पिक व्यवस्थाको तयारी भइरहेको र केही समयको लागि मात्र भन्दै नगरपालिकाले वर्षौंदेखि वडा नम्बर १ को मेउडिहवा र डन्डा खोला किनारमा फोहोर फाल्दै आएको थियो।
-1777100507.jpg)
-1777100507.jpg)
स्थानीयले नगरपालिकाका १३ वटै वडाको फोहोर वडा नंं १ ले थेग्नुपर्ने भन्दै विरोध गर्दै आएका थिए।
यहीबीच अधिवक्ता विवेक बख्रेल र कानुनकी विद्यार्थी अञ्जली सिलवालले गत चैत १६ गते डन्डा खोला छेउमा फोहोर फ्याँक्न रोक्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।
सोही मुद्दामा सुनुवाइ गर्दै सर्वोच्च अदालतले वैशाख ४ गते डन्डा छेउमा फोहोर नफाल्न अन्तरिम आदेश जारी गरेको थियो।
सर्वोच्च अदालतको उक्त आदेशपछि नगरपालिकाले फोहोर उठाउन सकेको छैन। पछिल्लो एक सातायता नगरका मुख्य सडक, चोक र भित्री गल्लीहरूमा फोहोरको डंगुर थुप्रिएको छ।
भारतीय सिमानाका सुनौलीसँग जोडिएको सिद्धार्थनगरलाई गौतमबद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारको रूपमा लिने गरिन्छ। लुम्बिनीको प्रवेशद्वारको रूपमा रहेको मानिने भैरहवा क्षेत्रका सडक किनारमा फोहोरका डंगुर थुप्रिँदा भारतीय भूमि हुँदै पैदल मार्ग भएर लुम्बिनी आउने पर्यटकहरू समेत प्रभावित भएका छन्।
नगरपालिकाले फोहोर नउठाएपछि बेलहियादेखि नै सडकका किनार, चोक तथा गल्लीहरूमा फोहोर थुप्रिँदै गएको छ।
अहिले सिद्धार्थनगर नगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई कालो प्लास्टिकमा बाँधेर सडक किनारमा थुपारिरहेको छ। ठूला होटल तथा अस्पताल र व्यावसायिक प्रतिष्ठानहरूमा पनि फोहोर त्यसै गरी थुप्रिरहेको छ। स्थानीयले घरघरमा फोहोर जम्मा गरिरहेका छन्।
सहरभरी कालो प्लास्टिकमा बाँधिएका फोहोरको थुप्रोले सफा र स्वच्छ हराभरा सिद्धार्थनगरको नारालाई गिज्याइरहेको छ। अहिले तराईमा चर्को गर्मी र हावाहुरी चल्ने मौसम हो। यस्तोमा प्लास्टिकमा पोको पारेर फालिएको फोहोर हावाहुरीले उडाएर यत्रतत्र फिजारिदिने र दुर्गन्ध फैलिने समस्या निम्तिएको छ।
नगरपालिकामा फोहोर व्यवस्थापन समेत हेरिरहेका रोजगार संयोजक खेमराज गैरेका अनुसार नगरपालिकाले यसअघि नै घरघरबाटै कुहिने र नकुहिने फोहोर छुट्टाएर राख्न आग्रह गर्दै आए पनि सर्वसाधारणले बेवास्ता गर्दा फोहोर व्यवस्थापन झनै चुनौती बनिरहेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापा पनि फोहोर उत्पादन हुने स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्टाउने हो भने अहिलेको समस्या आधा कम हुने बताउँछन्।
-1777100507.jpg)
-1777100507.jpg)
सिद्धार्थनगर क्षेत्रमा फोहोर व्यवस्थापनको समस्या नयाँ भने होइन। मुख्य सडक किनार र चोकहरूमा हप्तौँ सम्म फोहोरका डंगुरको थुप्रो लाग्ने गरेपछि नगरपालिकाका यसअघिका मेयरले फोहोरी मेयरको संज्ञा समेत पाएका थिए। त्यसैले पनि वर्तमान नगरप्रमुख इस्तियाक अहमद खानले निर्वाचित भएपछि एक वर्षभित्रै फोहोर र छाडा चौपायाको व्यवस्थापन गर्ने वाचा गरेका थिए। त्योसँगै पाँच वर्षभित्र आफूले पाएको मत बराबर वृक्षरोपण गर्ने वाचा सहित पहिलो निर्णयका रूपमा हस्ताक्षर गरेका थिए।
तर नगर प्रमुखमा ९ हजार १ सय ३४ मत प्राप्त गरी विजयी भएका खानले चार वर्ष पुरा हुनै लाग्दा पनि आफैले गरेको एक वर्ष भित्र कामको वाचा पूरा गर्न सकेका छैनन्। पहिलो निर्णयका रूपमा हस्ताक्षर गरेका विषय नै नगरप्रमुख खानको टाउको दुखाइका विषय बनेका छन्। बजारका मुख्य चोक र सडक किनारमा फोहोर थुपारिनु र छाडा छोडिएका पशु चौपायाले तिनै फोहोरका थुप्राहरू खोतलेर छरपस्ट पार्नु अन्य सहरहरू जस्तै भैरहवाको पनि वर्षौँदेखिको समस्या बनिरहेको छ।
त्यसो त नगरपालिकाले फोहोरको दीर्घकालीन व्यवस्थापनको लागि भन्दै सात वर्ष पहिले छिमेकी ओमसतिया गाउँपालिका वडा नम्बर ५ पट खौलीमा ६ विगाह जग्गा खरिद गरेको थियो। नगरपालिकाले जग्गा खरिद गरे पनि सिद्धार्थनगरको फोहोर ओमसतियामा ल्याउन पाइँदैन भन्दै स्थानीयले विरोध गरेपछि उक्त जग्गा त्यत्तिकै अलपत्र परेको छ।
यता फोहोर व्यवस्थापनको लागि एसियाली विकास बैंकले उपलब्ध गराउने भनेको ३२ करोड ऋण अनुदान पनि आयोजना सुरू नहुँदै फिर्ता भयो। त्यसयता पनि सिद्धार्थनगर नगरपालिकाले ओमसतिया, रोहिणी, लुम्बिनी सांस्कृतिक लगायतका पालिकासँग सहकार्य गरेर फोहोर व्यवस्थापन गर्न खोजे पनि त्यो सफल हुन नसकेको नगर प्रमुख खान बताउँछन्।
फोहोर व्यवस्थापनका लागि अगाडि सारिएका प्रयासहरू सफल हुन नसकेपछि बाध्य भएर डन्डा नदी आसपासमा फोहोर थुपार्नु परेको नगरप्रमुख खानको भनाइ छ।
नगरपालिकाले फोहोर फाल्दै आएको डन्डा खोला किनारमा स्थानीयले स्वर्गद्वारी नामबाट शव दाहसंस्कारको लागि घाट निर्माण गरेका छन्।
नजिकै पार्क बनाएको छ। शव दाहसंस्कारको लागि लैजाने उक्त घाटको मुखमै नगरभरिको फोहोर लगेर थुपार्दा घाटमा जानेहरूलाई समेत समस्या भएको छ।
फोहोरका कारण नजिकै रहेका पक्लिहवा कृषि क्याम्पसमा दुर्गन्ध फैलिँदा पढ्न समेत समस्या हुने गरेको विद्यार्थीहरूको गुनासो छ।
स्थानीय दीपक बानियाँले बस्ती नजिकै फोहोर फाल्दा विभिन्न रोगको संक्रमण समेत हुने गरेको बताए।
-1777100506.jpg)
-1777100505.jpg)
-1777100506.jpg)
-1777100506.jpg)
-1777100505.jpg)
-1777100505.jpg)
-1777100506.jpg)
-1777100505.jpg)
-1777100504.jpg)
-1777100504.jpg)