बुटवल-नारायणगढ सडक खण्ड अन्तर्गत दाउन्ने खण्डमा एकतर्फी सडक ढलान सम्पन्न हुन करिब आठ सय मिटर मात्र बाँकी रहेको छ।
नारायणगढ-बुटवल सडक योजनाका अनुसार दाउन्नेदेखि पश्चिम खण्डमा ५९० मिटर र पूर्वी खण्डमा २ सय मिटर ढलान गरेपछि सडकको एकातर्फको ढलान पूरा हुनेछ।
नारायणगढ बुटवल सडक योजना अन्तर्गत पश्चिम खण्डका सूचना अधिकारी विकास खनालले पूर्व पश्चिम दुवै खण्डको एकातर्फको ढलान वैशाख १५ गते सम्ममा सम्पन्न हुने दाबी गरे।
पूर्व र पश्चिम दुवै खण्डमा वैशाख १५ गतेसम्म एकातर्फको सडक ढलान गरेर जोड्ने योजना अनुसार काम भइरहेको छ।
‘ढलान गरेको सडकमा कम्तीमा १५ दिनसम्म गाडी गुडाउन मिल्दैन। वैशाख १५ गतेसम्ममा ढलान सम्पन्न गरेर जेठको सुरूआतदेखि नै ढलान गरेको सडकबाट सवारी साधन सञ्चालन गराउने योजना छ,’ उनले दाबी गरे।
-1777106771.jpg)
-1777106769.jpg)
चितवनको गैंडाकोटदेखि बुटवल राजमार्ग चौराहासम्मको ११३ किलोमिटर सडकमध्ये दुम्किबासदेखि बर्दघाटसम्मको १४ किलोमिटर खण्ड भौगोलिक रूपमा पनि अत्यन्त अप्ठ्यारो र पहिरोको कारण जोखिमपूर्ण छ। जसमध्ये पश्चिम खण्डमा १० किलोमिटर र पूर्वी खण्डमा ४ किलोमिटर सडक पर्छ।
सडक निर्माणकै क्रममा सामान्य वर्षापछि झरेको गेग्र्यान सहितको बाढीले समेत कालोपत्रे बगाइदिएपछि आयोजनाले दाउन्नेको ११ किलोमिटर हाराहारी सडक ढलान गर्ने गरी डिजाइन परिवर्तन गरेको थियो। अहिले पश्चिमतर्फको ७ दशमलव २ किलोमिटर र पुर्वी खण्डको ४ किलोमिटर सडक ढलानको काम भइरहेको छ।
आयोजनाका अनुसार पश्चिम खण्डमा ढलान गर्न बाँकी रहेकोमध्ये १५० मिटर पहिरो ग्रस्त क्षेत्र हो।
अरू क्षेत्रमा ढलानको लागि तयारी अवस्थामा रहेको भए पनि पहिरोग्रस्त क्षेत्रमा स्ट्रक्चरको काम भइरहेको सूचना अधिकारी खनालले बताए।
‘पहिरोग्रस्त क्षेत्रमा स्ट्रक्चरको काम नगरीकन ढलान गर्न सम्भव छैन, अहिले स्ट्रक्चरको काम भइरहेको छ,’ उनले भने।
खनालका अनुसार जेठको दोस्रो सातासम्म दाउन्ने खण्डको पनि दुवै तर्फको सडक ढलान गरेर सम्पन्न गर्ने बताए।
उनले अर्को तर्फको सडक ढलान गर्न दुई किलोमिटर हाराहारी बाँकी रहेको बताए। एकातर्फको सडक ढलान सम्पन्न भएपछि अर्कोतर्फको ढलान गर्न सहज हुने भएकोले जेठ दोस्रो सातासम्म दुवै तर्फको ढलान सक्ने दाबी गरे।
बुटवलदेखि बर्दघाट सम्म र नारायणगढदेखि दुम्किबास सम्म दुवै तर्फ सडक कालोपत्रे भइसकेकोले हुइँकिएर गुड्ने सवारी साधन दाउन्ने खण्डमा आएर जाममा पर्ने गरेका छन्। निर्माण सम्पन्न नभएको मात्र होइन साँघुरो र उकालो रहेकोले पनि सो क्षेत्रमा आवागमन अस्तव्यस्त बनिरहेको छ।
-1777106770.jpg)
-1777106769.jpg)
पश्चिम खण्डमा सर्भिस लेनको विषयमा विवाद उत्पन्न भएका कारण ढिलाइ हुँदा करिब ३ सय मिटर मात्र एकतर्फी कालोपत्रे गर्न बाँकी छ भने अर्को खण्ड सबै कालोपत्रे भइसकेको छ। पूर्वी खण्डमा पनि दुम्किबास देखि गैँडाकोटसम्मको दुबैतर्फ सडक कालोपत्रे सम्पन्न भइसकेको छ।
दाउन्नेदेखि बुटवलसम्म ४८ दशमलव ५ किलोमिटर पश्चिम खण्ड र गैँडाकोटदेखि दाउन्नेसम्मको ६४ दशमलव ५ किलोमिटर पूर्वी खण्ड अन्तर्गत ठेक्का सम्झौता गरी सडक निर्माणको काम भइरहेको छ।
२०१८ सालमा तत्कालीन राजा महेन्द्रले निर्माणको शिलान्यास गरेको पूर्व–पश्चिम राजमार्गको बुटवल नारायणगढ खण्डको स्तरोन्नतिका लागि २०७५ साल चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः शिलान्यास गरेका थिए।
सडक विभाग र चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबीच २०७५ माघ २४ गते सम्झौता हुँदा साढे तीन वर्षमा अर्थात् २०७९ साउन २२ सम्म सडक विस्तारको काम सम्पन्न गर्ने सर्त थियो।
विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले हालसम्ममा चौथो पटक म्याद थप गराएको छ।
सम्झौताको म्याद सकिएपछि पहिलो पटक एक वर्ष थपेर २०८० भदौ १२ सम्म पुर्याइएको थियो। त्यसपछि दोस्रो पटक ११ महिना थपेर २०८१ साउन ८ गतेसम्म पुर्याइएको थियो। त्यस अवधिमा पनि काम पूरा नभएपछि तेस्रो पटक एक वर्ष थप गरी २०८२ साउन ८ गतेसम्म पुर्याइएको थियो।
तेस्रो पटक थप गरिएको म्याद सकिदा पनि जम्मा ७० प्रतिशत मात्र काम पुरा गरेपछि पुनः चौथो पटक एक वर्षको म्याद थप गरिएको थियो। चौथो पटक थप गरिएको म्याद साउन ७ गते सकिँदै छ। सडक निर्माणको काम भने ८३ प्रतिशत मात्र सम्पन्न भएको छ। चौथो पटक थप गरिएको म्याद भित्र मुख्य सडकको ढलान र कालोपत्रेको काम सम्पन्न भए पनि सर्भिस लेनको काम पुरा हुनेमा भने आशङ्का छ।
एसियाली विकास बैंकको ८५ प्रतिशत ऋण अनुदान र नेपाल सरकारको १५ प्रतिशत लगानी रहेको यस सडकको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ रहेको छ। सडक निर्माणका लागि एसियाली विकास बैंकले ३२ वर्षका लागि साढे एक प्रतिशत ब्याजमा ऋण दिएको हो।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भइरहेको यो सडक खण्डमा सहरी क्षेत्रमा ६ लेन, जंगल क्षेत्रमा ४ लेन र दाउन्ने खण्डमा तीन लेनमा बनिरहेको छ। सडकमा वन्यजन्तु वारपार गर्न ओभर पाससहित पूर्वी खण्डमा १२ वटा ठूला र २२ वटा साना तथा पश्चिम खण्डमा ९ वटा ठूला र २१ वटा साना पुल बनिरहेका छन्।
-1777106768.jpg)
-1777106768.jpg)
-1777106769.jpg)
-1777106770.jpg)
-1777106770.jpg)
-1777106768.jpg)