पाल्पाको बगनासकाली घर भई हाल रूपन्देहीको तिलोत्तमामा बस्दै आएकी गीता पाण्डेको मृत्युको घटना छानबिनका लागि गठित समितिले गीताको मृत्यु उनको गर्भपतनमा संलग्न चिकित्सक र स्वास्थ्य क्लिनिकहरूको गम्भीर लापरबाहीको कारण भएको निष्कर्ष निकालेको छ।
समितिको सोही निष्कर्ष सहित नेपाल मेडिकल काउन्सिलले गीताको गर्भपतन गराउने डाक्टर सतिश रूपाखेतीलाई निलम्बन गरेको छ।
२९ वर्षीया गीताको गत वैशाख ६ गते गर्भपतन गराउने क्रममा मृत्यु भएको थियो।
गीताको गर्भमा रहेको १२ हप्ताको भ्रूणमा समस्या रहेको भन्दै गर्भपतन गराउने क्रममा उनको मृत्यु भएको थियो।
उनको परिवारले गीताको मृत्यु चिकित्सक र स्वास्थ्य संस्थाहरूको लापरबाहीको कारण भएको भन्दै बुटवलमा प्रदर्शन गरेका थिए।
श्रीमती सहित गर्भपतनका लागि क्लिनिकहरूमा गएका मृतकका पति प्रकाश पाण्डेले बुटवलको खत्री नर्सिङ होम, जोनल फार्मेसी र इन्दु लेखा क्लिनिकका चिकित्सक र स्वास्थ्यकर्मीहरूको लापरबाहीले गीताको मृत्यु भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए।
साथै, उक्त घटनाको विषयमा निष्पक्ष छानबिनका लागि नेपाल मेडिकल काउन्सिलमा पनि निवेदन दिएका थिए। पीडित पक्षबाट निवेदन परेपछि काउन्सिलले पनि घटनाको छानबिनको लागि समिति गठन गरेको थियो।
-1777116177.jpg)
काउन्सिलका सदस्य डा. सम्राट पराजुली संयोजक तथा प्रसूति तथा स्त्री रोग विशेषज्ञहरू प्रा. डा. पदमराज पन्त, डा. राजेन्द्र प्रसाद बस्याल, डा. अनुप पन्थी, अधिवक्ता गोविन्द प्रसाद मरासिनी र नागरिक समाजको तर्फबाट दिनेश पाण्डे सदस्य रहेको समितिले घटनाको छानबिन गरी काउन्सिलका उपाध्यक्ष डा. कुन्जन शेर्पा र रजिस्ट्रार डा. सतिश कुमार देवलाई प्रतिवेदन बुझाएको हो।
सोही प्रतिवेदनको आधारमा तत्कालको लागि गर्भपतन गराउने डा. रूपाखेतीलाई निलम्बन र जोनल फार्मेसी र इन्दुलेखा स्वास्थ्य क्लिनिक बन्द गराउने निर्णय गरिएको काउन्सिलका रजिस्ट्रार डा. देवले बताए।
समितिले आगामी दिनमा यस्ता कुनै पनि अप्रिय घटना दोहोरिन नदिन घटनामा संलग्न चिकित्सक र क्लिनिकमाथि लापरबाहीको हकमा प्रचलित कानुन बमोजिम थप अनुसन्धान गरी आवश्यक कारबाही गर्न सिफारिस गरेको छ।
समितिका अनुसार डा. रूपाखेतीले गर्भपतनका लागि पूर्वाधार नभएको र कानुन बमोजिम दर्ता समेत नभएको इन्दु लेखा स्वास्थ्य क्लिनिकमा लापरबाही पूर्वक गीताको गर्भपतन गराएको पाइएको छ।
त्यस्तै जोनल हेल्थ क्लिनिकले गैर कानुनी रूपमा सञ्चालित ईन्दुलेखा हेल्थ क्लिनिकमा बिरामी पठाएर कानुनले निषेध गरेको काम गरेको छानबिन समितिले औँल्याएको छ।
उक्त प्रतिवेदनमा पहिलो पटक चैत २७ गते र दोस्रो पटक वैशाख ५ गते गर्भ परीक्षण गराएको खत्री नर्सिङ होमले भ्रूणमा समस्या देखिएपछि गर्भपतनका लागि सुविधा सम्पन्न क्लिनिक वा अस्पतालमा पठाउनुपर्नेमा सामान्य क्लिनिकमा पठाएर कमजोरी गरेको औँल्याएको छ।
जोनल हेल्थ क्लिनिकका नाममा सञ्चालित निजी स्वास्थ्य संस्था पूर्वाधार र मापदण्ड बिना सञ्चालनमा रहेको, बिरामीको अभिलेख समेत नराखिएको देखिएकोले तोकिएको मापदण्ड पूरा नगरेसम्म सञ्चालन अनुमति तत्काल रोक्न समितिले सुझाव दिएको छ।
छानबिन समितिले पूर्वाधारको अभाव जटिलता उत्पन्न हुँदा आवश्यक पर्ने जीवन रक्षा प्रणाली उपकरणहरू क्लिनिकमा पर्याप्त हुनुपर्ने र सोका आधारमा मात्रै सञ्चालन अनुमति दिनुपर्ने, सम्बन्धित निकायबाट अनुगमन तथा निरीक्षण गरी तोकिएको मापदण्ड पूरा नभएका स्वास्थ्य संस्थाहरू तत्काल बन्द गर्नु पर्ने, स्वास्थ्य सेवा प्रदायकले चिकित्सकको प्रेस्कृप्शन बिना औषधि बिक्री वितरण गर्न नपाइने बिक्री वितरण गरेका सम्पूर्ण औषधिको अभिलेख राख्नु पर्ने, दर्तावाला चिकित्सकले सेवा प्रदान गर्दा आवश्यक पूर्वाधार पुरा गरेका स्वास्थ्य संस्थाहरूबाट मात्रै सेवा प्रदान गर्ने र आफूले प्रदान गरेको सेवाको सम्पूर्ण विवरण डिजिटल रूपमा अभिलेख राख्नुपर्ने, प्रत्येक स्वास्थ्य संस्थाले सेवा प्रदान गर्ने विषयमा सर्वसाधारणले प्रस्ट देखिने गरी मूल्यसूची सहितको नागरिक वडापत्र अनिवार्य रूपमा राखिनुपर्ने र आर्थिक लाभका लागि बिना रेकर्ड गर्भपतन गराउने कार्य बढिरहेको र त्यसकै कारण महिलाहरू जोखिममा परी मृत्युदर समेत बढेकोले सो कार्यलाई रोक्नका लागि आवश्यक नीति बनाई कार्यान्वयनमा ल्याउन सुझाव दिएको छ।
निजी क्लिनिक र अस्पतालहरूको सूचीकरण र गुणस्तरको तत्काल अनुगमन गरी मापदण्ड नपुगेका संस्था बन्द गर्न र सुरक्षित गर्भपतन सरकारी र सूचीकृत अस्पतालमा मात्र गराउन सर्वसाधारणमा सूचना प्रवाह गर्न सुझाव दिइएको छ।
घटना विवरण अनुसार गर्भमा दोस्रो बच्चा बसेपछि पाण्डे दम्पती गर्भ परीक्षणको लागि गत चैत २७ गते बुटवलको इट्टा भट्टीमा रहेको खत्री नर्सिङ होममा पुगेका थिए।
मृतकका पति प्रकाश पाण्डेका अनुसार गीताको १२ हप्ताको गर्भमा रहेको भ्रूण असामान्य रहेको भन्दै बुटवलको खत्री नर्सिङ होमबाट जोनल फार्मेसी हुँदै इन्दुलेखा क्लिनिकमा पुगेर गर्भपतन गराउने क्रममा उनी अचेत भएकी थिइन्।
अचेत अवस्थाकी गीतालाई लुम्बिनी सिटी अस्पतालमा लगिएकोमा चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए।