थापाथली र सिनामंगल क्षेत्रको सुकुम्बासी बस्ती खाली गरिएपछि १२३ परिवार महानगरको सम्पर्कमा पुगेका छन्।
महानगरले दशरथ रंगशालामा स्कृनिङ सेन्टर राखेर सुकुम्बासीहरूको विवरण संकलन गरिरहेको छ।
विवरण संकलनमा खटिएका अधिकारसम्पन्न एकीकृत बागमती सभ्यता विकास परियोजनाका सामाजिक परिचालक कुमार सिंखडाका अनुसार अहिलेसम्म १२३ परिवारको ५६४ जनाको विवरण संकलन भइसकेको छ।
तीमध्ये गैरीगाउँका २२ परिवार, सिनामंगलका ८ र शान्तिनगरका ५ परिवार छन्। बाँकी थापाथलीको सुकुम्बासी बस्तीमा बस्दै आएकाहरू रहेको उनले बताए।
तीमध्ये ३१ परिवारलाई कीर्तिपुर पठाइएको छ। कीर्तिपुरको सत्सङ भवनमा सुकुम्बासी राख्नका लागि होल्डिङ सेन्टर बनाइएको छ। ३१ परिवार बसेको होल्डिङ सेन्टरको भरिएका कारण बाँकीलाई कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको पनि उनले बताए।
'पानी पनि पर्न लागेको छ। अहिलेलाई यहीँ राख्न पनि सकिन्छ भनेर छलफल गर्दै छौं,' उनले भने।