दाङ प्रहरीले १५ ग्राम ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराका अनुसार गढवा गाउँपालिका – १ धानखोलाका २९ वर्षीय गोविन्द घर्ती मगर पक्राउ परेका हुन्।
गढवा–कालाकाटे जुरौनी सडक खण्डमा ब्राउन सुगरको ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङ र अस्थायी प्रहरी पोस्ट कालाकाटेबाट खटिएको प्रहरी टोलीले राति गोविन्दलाई पक्राउ गरेको थियो।
उनको शरीर खानतलासी गर्दा १३.३८ ग्राम ब्राउन सुगर बरामद भएको थियो। घरमा लुकाई छिपाई राखेको ३० पुरियामा २.५० ग्राम ब्राउन सुगर बरामद भएको थियो। गोविन्दबाट कुल १५.८८ ग्राम ब्राउन सुगर बरामद भएको थियो।
प्रहरीले उनले प्रयोग गर्दै आइरहेको बा ८५ प १९५१ नं. को बाइक पनि नियन्त्रणमा लिएको छ।
गोविन्दले पोलेपछि लागुऔषधको कारोबारमा संलग्न रहेका भन्दै प्रहरीले थप चार जनालाई पनि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा राप्ती गाउँपालिका – १ भालुवाङका २९ वर्षीय आशबहादुर रोका, सोही ठाउँका ३० वर्षीय ऐकेन्द्र पुन, २८ वर्षीय अजय पुन र २८ वर्षीय खेमराज चौधरी छन्। उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।