मनोहरा सुकुम्बासी क्षेत्रको घर-टहरा आइतबार भत्काइने भएको छ।
शनिबार थापाथली र सिनामंगल क्षेत्रको सुकुम्बासी बस्तीका संरचना भत्काएपछि मनोहराको वस्ती पनि भत्काउका लागि सुरूमा प्रहरी पुगेको थियो। तर स्थानीयले अवरोध गरेपछि रात पनि परिसकेका कारण प्रहरी टोली फर्किएको थियो।
आइतबार बिहान ९ बजेपछि ठूलो संख्यामा प्रहरी त्यस क्षेत्रमा पुगेको छ।
केही संख्यामा डोजरहरू पनि तैनाथ छन्।
बिहानैदेखि मानिसहरूले घर-टहराबाट सामानहरू पनि निकालिरहेका छन्।
आज जुनसुकै हालतमा पनि त्यहाँका संरचनाहरू भत्काइने महानगर प्रहरी बलका इन्स्पेक्टर इश्वर वाग्लेले बताए।
उनका अनुसार त्यस क्षेत्रमा १० वटासम्म डोजर परिचालन गरिनेछ।
'मनोहरामा ९ बजेदेखिको लागि तयारी अवस्थामा रहन भनिएको छ। बिहान विभिन्न स्थानबाट १० वटा डोजर लैजाने तयारी छ,' उनले भने।