मनोहराको सुकुम्बासी बस्तीमा प्रहरी प्रवेश गरेको छ।
बिहानै डोजरसहित ठूलो संख्यामा उपस्थित भएको प्रहरी १० बजेपछि बस्तीमा छिरेको हो।
त्यसअघि जडिबुटी र लोकन्थली जोड्ने पुल मुनि प्रहरीहरू बसेका थिए।
बस्ती छिर्नुअघि प्रहरीले स्थानीयलाई सम्झाइ बुझाइ गरेका थिए।
अहिले दुई ठाउँबाट प्रहरीको दुई टोली वस्तीमा प्रवेश गरेको छ।
उनीहरूले माइकिङ गरेपछि संरचना भत्काउन सुरू गरिने बताएका छन्।
केही स्थानीयले बिहानैदेखि घर-टहराबाट सामानहरू निकालिरहेका छन्।
थापाथली र सिनामंगलमा प्रहरीले सामान निकाल्न स्थानीयहरूलाई मद्दत गरेका थिए।
मनोहरामा भने त्यस्तो दृश्य देखिएको छैन।
शनिबार स्थानीयले प्रवेश गर्न नदिएपछि बस्ती भत्काउन गएको प्रहरी फर्किएको थियो।
नाराबाजी र अवरोध भएपछि प्रहरी फर्किएको थियो। ढुंगामुढाका कारण केही प्रहरी घाइते भएका थिए।
शनिबारको तुलनामा आइतबार प्रहरीको संख्या पनि बढाइएको छ। जनपद र सशस्त्र प्रहरी शिल्ड लगाएर बस्ती छिरेका छन्।
डोजर तयारी अवस्थामा राखिएको छ।
मनोहरामा १० वटा डोजर चलाउने तयारी रहेको काठमाडौं महानगर प्रहरी बलका इन्स्पेक्टर इश्वर वाग्लेले बताएका छन्।
काठमाडौंमा बिहानैदेखि मौसम खराब छ। केही ठाउँमा पानी पनि परिरहेको छ।
पानी परेको अवस्थामा पनि बस्ती खाली गर्ने प्रक्रिया नरोकिने इन्स्पेक्टर वाग्लेले बताए।
तस्बिरहरू—




