बाजुरामा बाटो खनीहरुको एक्साभेटर दुर्घटनामा परि एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
जगन्नाथ गाउँपालिका – ६ का १८ वर्षीय महेश रावलको घटनास्थलमै मृत्यु भएको हो। एक्स्काभेटर अड्किएको ठाउँबाट करिब ३ सय मिटर तल रावलको शव फेला परेको हो।
एक्स्काभेटरसँगै खसेका रावलको शव भीरमा खोज्न र निकाल्न झन्डै ८ घन्टा जति समय लागेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताए ।
‘दुर्घटना आइतबार बिहानको हो,’ शाहीले भने, ‘ तर अफ्ठ्यारो भूगोलका कारण खोज्न र शव निकाल्न निकै समय लागेको थियो।’
रावलतको खोजी गरी शव निकाल्न प्रहरीका साथै कालीकोटको सदरमुकाम मान्मबाट उपसेनानी प्रवीण श्रेष्ठको नेतृत्वमा नेपाली सेनाको टोलीपनि खटिएको थियो।
त्यो टोलीले झन्डै सात/आठ घन्टा लामो मेहनतपछि बल्ल शव निकाल्न सकेको थियो । ‘हाम्रो प्रहरी र सेनालाई अप्ठेरो भीरबाट तल झर्न नै समय लाग्यो,’ शाहीले भने, ‘त्यसपछि बेपत्ता किशोर खोज्न समय लाग्यो। शव भेटिएपछि माथि ल्याउन पनि निकै सकश भयो।’
कर्णाली करिडोर अन्तर्गत कालीकोट र बाजुराको सीमाना क्षेत्र बाजुराको जगननाथ गाउँपालिका – ६ लैफु डाँडामा कर्णाली करिडोर अवरुद्ध भएको भन्ने सूचनाका आधारमा सडकको माटो पन्छाउन एक्स्काभेटर परिचालन गरिएको थियो।
त्यही सडक खण्डमा माटो पन्छाउने क्रममा प्रदेश न. ३०१–००३ क ६३११ नम्बरको एक्स्काभेटर आइतबार बिहान ७ बजेतिर सडकबाट भीर मुनी झन्डै २ सय मिटर तल खसेको थियो ।
एक्साभेटर खस्न लागेपछी चालक हाम फालेर फरार भएका थिए। दुर्घटना पछि भागेका कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका – २ का २५ वर्षीय चालक केशव विष्टलाई प्रहरीले कालीकोटबाट नियन्त्रणमा प्रहरी निरीक्षक शाहीले बताए।
विष्ट भागेपछि उनीसँगै रहेका रावल एक्स्काभेटरसँगै खसेका थिए। चालक बिष्टको आग्रहमा उनी सँगै गएका थिए।
मृतक रावतलको शव पोस्टमर्टमका लागि मार्तडी अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ।