नदी किनारको सुकुम्बासी बस्ती हटाउने क्रममा विद्यालय पनि भत्काइएको छ।
मध्यपूर थिमी नगरपालिका-१ को मनोहराको सरस्वती आधारभूत विद्यालय सोमबार बिहान भत्काइएको हो।
आइतबार विद्यालयको सामान सार्न नभ्याएकाले 'होल्ड' मा राखिएको थियो। सोमबार बिहानै भत्काइएको प्रधानाध्यापक इन्दिरा महतले जानकारी दिइन्।
'आज बिहानै विद्यालय भत्काइयो। मैले हेर्न सकिनँ,' उनले भनिन्, 'एउटा भवन भत्काएर अर्को आधामा अलपत्र पारेर छोडेर गएका छन्। केही बेरमा त्यो पनि भत्काउने भनेका छन्। '
मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा आइतबारदेखि डोजर चलिरहेको छ।
बस्तीमा डोजर छिरेपछि प्रधानाध्यापक महतले विद्यालय नभत्काउन जनपद प्रहरी र महानगर प्रहरीलाई आग्रह गरेकी थिइन्। तर कसैले नसुनेको उनी बताउँछिन्।
'नभत्काइदिन आग्रह गरेँ तर सुकुम्बासी बस्तीमा भएका हरेक संरचना भत्काउन भनिएको भनेर डोजर चलाइयो,' उनले भनिन्,' अब के हुन्छ थाहा छैन। स्थानीय तहसँग कुराकानी गर्न बाँकी छ।'
यो स्कुलमा कक्षा ८ सम्म पढाइन्छ। यहाँ २८० जना विद्यार्थी पढ्छन्। तीमध्ये आधा मात्र सुकुम्बासी परिवारका केटाकेटी छन्।
यो स्कुलमा २०६२ सालमा स्थापना भएको हो। २०६४ देखि सरकारी मान्यता पाएर सञ्चालनमा आइरहेको छ। २०७१ देखि कक्षा ८ सम्म अध्ययन गराउन थालेको प्रधानाध्यापक महत बताउँछिन्।
उनका अनुसार यहाँ १५ जना शिक्षक र एक जना कार्यालय सहयोगी छन्। १० वटा कक्षाकोठा छन्।