युक्रेनले सन् २०२६ को पहिलो ६ महिनामा २५ हजार मानवरहित स्थलगत सवारी साधन (युजीभी) खरिद गर्ने सम्झौता गर्ने भएको छ। यो २०२५ को कुल संख्या भन्दा दोब्बर बढी हो।
युक्रेनको रक्षा मन्त्रालयले फ्रन्टलाइनको सम्पूर्ण बन्दोबस्तीको भार सिपाहीहरूबाट हटाएर रोबोटहरूमा सार्ने योजना अनुसार यसो गर्न लागेको डिफेन्स न्युजले लेखेको छ।
गत हप्ता आन्तरिक युजीभी निर्माताहरूसँगको भेटपछि रक्षा मन्त्री मिखाइलो फेडोरोभले यो लक्ष्य साझा गरेका हुन्। दीर्घकालीन उत्पादन प्रक्रियालाई स्थिर बनाउन मन्त्रालयले सन् २०२७ का लागि समेत सम्झौता गर्न सुरु गरिसकेको घोषणा गरे।
'हाम्रो लक्ष्य भनेको फ्रन्टलाइनको १००% बन्दोबस्ती कार्य रोबोटिक प्रणालीहरूद्वारा गराउनु हो,' मन्त्रीले फेडोरोभले थपे।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अप्रिल १४ को 'आर्म्स मेकर डे' (हतियार निर्माता दिवस) को सम्बोधनमा विगत तीन महिनामा युक्रेनी सेनाले २२ हजार भन्दा बढी मानवरहित मिसनहरू सञ्चालन गरेको जानकारी दिएका थिए।
त्यसले धेरै सैनिकहरूलाई युद्धको सबैभन्दा खतरनाक कामबाट जोगाएको उनले बताएका थिए।
लगभग चार गुणा जनसंख्या भएको रूससँग युद्ध लड्न युक्रेनले सैनिकको चरम अभाव खेपिरहेको छ। त्यसैले सैनिकको कमीलाई सम्बोधन गर्न पछिल्लो समय युक्रेनले मानवरहित प्रविधिमा निर्भरता बढाइ रहेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)