दाङको धानखोलादेखि लमहीसम्मको सडक खण्ड स्तरोन्नतिको काम बुधबारदेखि औपचारिक रूपमा सुरू हुँदैछ।
नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को लगानीमा कार्यान्वयन भइरहेको एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रमको सडक मर्मत आयोजनाको औपचारिक रूपमा सुरू हुन थालेको हो।
मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) का कार्यकारी निर्देशक खड्गबहादुर विष्टले आयोजना अन्तर्गत धानखोलादेखि लमही सम्मको ४० किलोमिटर सडक खण्ड स्तरोन्नति कार्यको औपचारिक रूपमा बुधबार शुभारम्भ कार्यक्रम राखिएको जानकारी दिए।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचायले पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तु र दाङको पूर्वी सीमाना धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्ड स्तरोन्नति कार्यको औपचारिक रूपमा शुभारम्भ कार्यक्रम आयोजना गरिएको छ।
लुम्बिनी प्रदेशको राजधानी रहेको ठाउँ दाङको राप्ती गाउँपालिकाको भालुवाङस्थित होटल पौवा अगाडि बुधबार बिहान १० बजेपछि मुख्यमन्त्रीले औपचारिक रूपमा सडक निर्माण कार्यको शुभारम्भ गर्ने सबै तयारी पूरा भएको कार्यकारी निर्देशक विष्टले बताए।
एमसिए–नेपालका सञ्चार विज्ञ पुष्कर माथेमाका अनुसार यो सडक खण्ड स्तरोन्नतिका लागि सन् २०२४ को ३० अक्टोबरमा टेण्डर आह्वान भएको थियो। त्यसमा विभिन्न ११ कम्पनीले टेन्डर भरेका थिए।
ठेक्का आह्वानपछि प्राविधिक र वित्तीय मूल्यांकन कार्य पूरा गरी उत्कृष्टमध्येका निर्माण व्यवसायी छनोटमा परेका थिए।
टेण्डर प्रक्रियाबाट यो सडक खण्ड निर्माणको जिम्मा शर्मा कन्स्ट्रक्सन र कुमार निर्माण सेवा प्रालिको संयुक्त उपक्रम शर्मा/कुमार जेभीले पाएको छ। गत पुस ७ गते एमसिए–नेपाल र निर्माण कम्पनीका बीचमा सम्झौता भएको थियो। सम्झौता अनुसार आयोजनाको निर्माण कार्य २४ महिनाभित्र पूरा गर्नुपर्ने छ।
निर्माण कम्पनीले भ्याटबाहेक दुई करोड आठ लाख अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) मा काम गर्ने जिम्मा लिएको छ।
अन्तर्राष्ट्रिय स्तरको र त्यसमा पनि एमसिसी परियोजनाअन्तर्गत पूर्ण रूपमा नेपाली कम्पनीले मात्रै काम गर्ने गरी जिम्मा पाएको यो नै पहिलो परियोजना हो।
सझौतापछि निर्माण कम्पनीले सडकको सर्भे लगायत कार्य पूरा गरी बुधबारदेखि औपचारिक रूपमै सडक निर्माणको काम सुरू गर्न थालेको हो।
नेपाल सरकारको निर्णयअनुसार स्तरोन्नति गरिने सडकमा गाडी गुड्ने चौडाइ ७ मिटर र दुवैतर्फ २.५ र २.५ मिटर चौडा कालोपत्रे सोल्डर गरी जम्मा १२ मिटर कालोपत्रे सडक रहने छ। यद्यपी यो सडक खण्ड चार लेनमा विकास गरिनुपर्ने माग उठ्दै आएको थियो।
यो सडक खण्डको निर्माण नयाँ प्रविधिको प्रयोगबाट गरिने भएको छ। नेपालमै पहिलो पटक फूल–डेप्थ रिक्लेमेसन र सुपरपेभ प्रविधिको प्रयोग दाङ यही सडक खण्डमा हुँदैछ।
यो प्रविधि अन्तर्गत सडक खण्डमा प्रयोग भएका अधिकांश पुराना निर्माण सामग्री प्रशोधन गरी पुनः प्रयोग गर्न मिल्ने हुन्छ। त्यसको अर्थ हाल सडक कालोपत्रेका लागि प्रयोग गरिएका बालुवा, गिट्टी जस्ता वस्तु भविष्यमा प्रशोधन गरी पुनः सोही कार्यका लागि प्रयोग गर्न सकिने छ। यो प्रविधिबाट सडक निर्माण गरेमा सडक थप बलियो र टिकाउ हुने तथा जलवायु अनुकूल हुने एमसिए–नेपालका सञ्चार विज्ञ माथेमाले उल्लेख गरेका छन्।
पुराना सडकका सामग्रीलाई नै प्रशोधन गरेर पुनः प्रयोग गरिने हुनाले यो प्रविधि वातावरणीय हिसाबले पनि सुरक्षित मान्ने गरिन्छ।
एमसीए–नेपालका सञ्चार विज्ञ माथेमाका अनुसार यो एउटा सशक्त सडक मर्मत प्रविधि हो।
‘फूलडेप्थ रिक्लेमेशन (एफडिआर) विधि भनेको पुरानो सडकमा पहिले भएका पदार्थहरूलाई धूलो बनाउनुका साथै स्थिरीकरण गरी पुनःप्रयोग गरेर उक्त सडकको पुनःनिर्माण गर्ने विधि हो,’ उनले भने।
परियोजनाअन्तर्गत अमेरिकी विकास परियोजना मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए नेपाल), नेपाल सरकार तथा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को ७४.७ करोड अमेरिकी डरल संयुक्त लगानीमा सञ्चालन भएको छ।
जसअन्तर्गत अमेरिकी सरकारको एमसिसी कम्प्याक्ट कोषको ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७ करोड अमेरिकी डलरको लगानी छ।
यो परियोजनाको उद्धेश्य नेपालमा आर्थिक वृद्धिमा तीव्रता ल्याउन बिजुलीको सहज उपलब्धता र भरपर्दो पनामा वृद्धि गर्नु, सडकको गुणस्तर कायम राख्नु तथा नेपालको उर्जा ब्यापारलाई सहजीकरण गर्ने भन्ने रहेको छ।
सोही कार्यक्रम अन्तर्गत राष्ट्रिय गौरवको विद्युत प्रसारण आयोजना र सडक मर्मत आयोजनाका कार्यहरू अगाडि बढ्न थालेका हुन्।
नेपाल सरकारले नेपाल र अमेरिकी सरकारको मिलिनियम च्यालेञ्ज कर्पोरेसनको सह–लगानीमा कार्यान्वय गरिने कार्यक्रमको जिम्मेवार निकायको रूपमा विकास समिति ऐन, २०१३ अन्तर्गत २०७५ साल वैशाख ५ गते एमसिए–नेपाल स्थापना भएको थियो। जसअनुसार सडक खण्ड स्तरोन्नतिको काम यसअघि नै हुनुपर्ने थियो। तर, नेपालको अस्थिर राजनीतिका कारण त्यसमा अवरोध सृजना भई कार्यक्रम लागू हुन ढिलाइ भएको थियो। यसमाथि अमेरिकी सरकार परिवर्तनको असर पनि परेको थियो।
पछिल्लो समय एमसिसी अन्तर्गतको सहायता नरोकिने भन्ने निर्णय ट्रम्प सरकारले गरेपछि मात्रै पुनः सडक स्तरोन्नतिको अन्तर्गतका परियोजनाको काम अगाडि बढेको हो। जबकी २०७९ सालतिरै यस सडक खण्डमा भौतिक संरचना हटाउन सार्वजनिक सूचना नै जारी भएको थियो। सोही अनुसार सडकको दायाँ/बायाँ रूखहरू काटिएका थिए। राप्ती गाउँपालिका क्षेत्रमा कटान गरिएका तिनै रूखका कारण अदालतमा मुद्दा पुगेको थियो। त्यो मुद्दामा गाउँपालिका अध्यक्ष, वडाध्यक्ष सहित केहीका लागि पक्राउ पुर्जी जारी भइसकेको छ। उनीहरू पुनरावलोकनका लागि उच्च अदालमा पुगेका छन्।
दाङको धानखोलादेखि लमही नगरपालिका–५ रातोडाँडा सम्मको सडक खण्ड एमसीएले पाइलट प्रोजेक्टका रूपमा अगाडि बढाएकाले सरकारी तवरबाट विगत चार वर्षयता खाल्डाखुल्डी पुर्ने काम मात्रै हुँदै आएका थिए। डिभिजन सडक कार्यालय दाङका प्रमुख सिडिई दिपेन्द्रबहादुर विष्टले यो अवधिमा भालुवाङ–लमही सडक खण्डमा सामान्य मर्मत सम्भारका काम मात्रै भएको तथा सडकखण्डमा सुरक्षा ट्राफिक संकेतहरूको मर्मत सम्भारको काम समेत गर्न नमिलेको बताएका थिए।