सुकुम्बासीलाई हटाउन थालेको भन्दै मंगलबार बेलुका तुलसीपुरमा प्रदर्शन भएको छ।
टाउकोमा कालो पट्टी बाँधेका प्रदर्शनकारीले विभिन्न नाराबाजी गर्दै बजारको परिक्रमा गरेका थिए।
उनीहरूले ‘गरिबलाई होइन, गरिबी हटाऊ, गरिबलाई बाँच्न दे, बालेन सरकार मुर्दावाद , बालेन सरकार राजीनामा दे, जनताको घर भत्काउन पाइँदैन, सुकुम्बासी यो देशको नागरिक होइन र’? भन्ने जस्ता नाराहरू लगाएका थिए।
मंगलबार मात्रै घोराहीमा भएको छलफलले सार्वजनिक तथा सरकारी जग्गामा अतिक्रमण गरी बनाइएका संरचना हटाउने निर्णय गरेको थियो।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा जिल्लाका सबै पालिकाका प्रमुख सहित बसेको बैठकले अतिक्रमण गरी बनाइएका अवैध संरचनाहरू तत्काल हटाउने निर्णय गरेको छ।
सडक किनार, सार्वजनिक स्थल, ऐलानी तथा प्रति जग्गामा बनाइएका टहरा तथा अस्थायी संरचना हटाउने निर्णय भएको हो।
त्यस्ता संरचना हटाउनुपूर्व सार्वजनिक सूचना जारी गर्ने सहमति भएको बैठकमा सहभागी एक जना पालिका प्रमुखले बताए।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र स्थानीय प्रशासन ऐन, २०२८ अनुसार सार्वजनिक, सरकारी, ऐलानी तथा प्रति जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने जिम्मेवारी स्थानीय तह र प्रमुख जिल्ला अधिकारीको हुने व्यवस्था छ।
नयाँ सरकार गठनसँगै मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकले सय दिने कार्यसूचीअन्तर्गत देशभर अतिक्रमण नियन्त्रणलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको थियो।