अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्यालयको भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा प्रधानाध्यापक र लेखापाल विरूद्ध मुद्दा दायर गरेको छ।
झापा, दमक नगरपालिका-२ को श्री हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्य विरूद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
विद्यालयको भवन निर्माणमा १ करोड ४८ लाख ५३ हजार रुपैयाँ भए पनि विद्यालयले २ करोड ७ लाख ७९ हजार रुपैयाँ भुक्तानी गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
उनका अनुसार भवन निर्माणमा मात्र झूटा बिल तथा कागजात तयार गरी ५९ लाख २६ हजार रुपैयाँभन्दा बढी रकम भुक्तानी गरिएको देखिएको छ।
उनीहरूले आपसी मिलेमतोमा १६ लाख ६० हजार रुपैयाँ बेरूजु देखिएको रकम हिनामिना गर्नुका साथै विद्यालयको १७ लाख ९६ हजार रुपैयाँ व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको अख्तियारको आरोप छ।
यसरी कुल ९३ लाख ८३ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना गरेकाले सोही अनुसारको विगो माग दाबी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए।