दाङको राप्ती गाउँपालिका–२ बराखुट्टीका १६ वर्षीय स्मित प्रधानको हत्या आरोपी तीन जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
दाङ जिल्ला अदालतले नाबालिक (किशोरी) लाई भने सुधारगृहमा पठाउन आदेश दिएको छ।
स्मितको चैत १९ गते मध्यरातमा राप्ती गाउँपालिका–४ स्थित सिँचाइका लागि निर्मित सुख्खा गोपीनाला नजिकै विभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो।
खोजी क्रममा उनको शव दोस्रो दिन मात्रै मध्याह्नतिर फेला परेको थियो। स्मितसँगै गएका उनका साथी १६ वर्षीय किशोरमाथि पनि बाँसको भाटाले निर्घात कुटपिट भएको थियो।
आक्रमणबाट अचेत अवस्थामा पुगेका किशोरलाई मरेको भनेर उनीहरूले छाडेर स्मितमाथि आक्रमण गर्न गएका थिए। पछि होस खुलेपछि किशोर भागेर ज्यान जोगाउन सफल भएका थिए।
स्मितमाथि पटक पटक चक्कु प्रहार गरी गरिएको विभत्स हत्याकाण्डमा सोमबार दाङ जिल्ला अदालतले तीन जना आरोपीहरू बंगलाचुली गाउँपालिकाका २० वर्षीय सन्दिप वली, राप्ती गाउँपालिकाका १८ वर्षीय निश्चल चौधरी र सोही ठाउँकै १८ वर्षीय टोपबहादुर घर्ती मगरलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले सन्दिप, निश्चल र टोपबहादुरलाई मुद्दाको अन्तिम किनारा नलाग्दासम्म पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतका सूचना अधिकारी गोकर्ण वलीले बताए।
नक्कली सामाजिक सञ्जालमार्फत् जन्मदिन मनाउन भनेर, हत्याको योजनासहित स्मित र किशोरलाई राति बोलाइएको थियो।
भेट्न बोलाउने भनिएकी किशोरी नाबालिक भएकाले बाल सुधारगृह भक्तपुर पठाउन आदेश भएको वलीले जानकारी दिए।
यसरी भएको थियो स्मित हत्या
जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानबाट मध्यरातमा जन्मदिन मनाउन भन्दै भेट्न बोलाएर योजनाबद्ध रूपमा क्रुरतापूर्वक स्मितको हत्या भएको थियो।
स्मितलाई नियन्त्रणमा लिएपछि दुवै हात डोरीले बाँधिदिएको, मुखमा कपडा कोचेर बोल्न नदिएको र त्यसपछि चक्कु, ढुंगा र भाँटाले छाती, पिठ्यूँ र पेटमा दर्जनौं पटक आक्रमण गरिएको थियो। हत्यापछि शव घिसारेर नालामा फालिएको थियो।
जिल्लाका इन्स्पेक्टर बाबुराम बस्नेतका अनुसार स्मित र किशोर बिहीबार बेलुकी ८ बजेतिर घरबाट सँगै राप्ती गाउँपालिका–४ तर्फ निस्किएका थिए। उनीहरूलाई दुई युवतीको नक्कली सामाजिक सञ्जालबाट सन्देश आएको थियो।
बोलाएको ठाउँमा पुग्दा स्मितकी पूर्वप्रेमिका (पक्राउ परेकी किशोरी) थिइन्।
प्रेम सम्बन्ध छुटेपछि किशोरीको सम्बन्ध सन्दिपसँग गाँसिएको थियो। स्मितले विगतको प्रेम सम्बन्धबारे अरूलाई भन्दै हिँडेको कुरा सन्दिपले किशोरीलाई भनेपछि उनीहरूले हत्याको योजना बनाएका थिए।
त्यसपछि उनीहरूले स्मितका साथी किशोरसँग सम्बन्ध अघि बढाएका थिए। किशोरलाई नै स्मितलाई पनि सँगै लिएर आउन सन्देशमा भनिएको थियो।
यसरबारे स्मितलाई थाहा थिएन। त्यसपछि किशोरीले किशोरलाई 'तिम्रो लागि अर्को मान्छे आउँछ, यहीँ बस्नू' भनिन् र स्मितलाई अलि पर लिएर गइन्। किशोरमाथि त्यही बाँसको भाँटा प्रहार र कुटपिट भयो र उनी बेहोस भए।
उता किशोरीले स्मितलाई सन्दीप र निश्चल भएका ठाउँमा पुर्याइन्। त्यहाँ उनीहरूले स्मितमाथि कुटपिट गरे।
इन्स्पेक्टर बस्नेतका अनुसार सुरूमा किशोरीले नै स्मितमाथि चक्कु प्रहार गरेकी थिइन्।
हत्यापछि सबै जना निश्चलको घरमा गए र रगत लागेका कपडा जलाए। चक्कु हिलोमा गाडे।
गम्भीर घाइते अवस्थाका किशोर त्यहाँबाट उम्किएर शुक्रबार बिहान–३ बजे राप्ती गाउँपालिका–४ मौरीघाटस्थित दिदीकी साथीको घर पुगेका थिए।
उनको ढाड, बाँया आँखा, बाँया गाला, कानमा चोट लागेको थियो। दिदीकी साथी लगायतले उनलाई बिहान ४ बजेतिर उपचारका लागि राप्ती आधारभूत अस्पताल सिसहनिया पुर्याएका थिए।
दिदीको साथीले नै घटनाबारे इलाका प्रहरी कार्यालय सिसहनियामा तत्काल खबर गरेकी थिइन्। त्यसअघि स्मितको अवस्थाबारे किशोरले केही बताएका थिएनन्।
त्यसपछि प्रहरी चौकी मसुरियाबाट प्रहरी सहायक निरीक्षक दिपेन्द्रकुमार मल्ल अस्पताल पुगेका थिए। केही बेरमा सिसहनियाबाट प्रहरी नायव निरीक्षक बुद्धि रानाको टोली पनि पुगेको थियो।
सोधपुछ क्रममा किशोरले कुरा बताएपछि बल्ल स्मितको खोजी सुरू भएको थियो। इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको नेतृत्वमा ११ जनाको टोली स्मितको खोजीमा खटिएको थियो।
घटनास्थलदेखि झन्डै डेढ किलोमिटर पूर्वतर्फ राप्ती–४ को दोलई खोलाको सुख्खा पक्की नालामा क्षतविक्षत अवस्थामा स्मितको शव प्रहरीले फेला पारेको थियो।
प्रहरीले २० गते राति १० बजेदेखि बिहान ४ बजेको बीचमा चारै जना आरोपीको पहिचान गरी नियन्त्रणमा लिएको थियो।
पुर्पक्षका लागि थुनामा पठाइएका टोपबहादुरले भने आफू हत्या घटनामा प्रत्यक्ष संलग्न नरहेको र सन्दिपले धेरै पटक फोन गरेर बोलाएकाले बिहान ७ बजे आफ्नो सिमकार्ड दिएको भन्दै आफ्नो बचाउ गरेका छन्।
जिल्ला प्रहरी प्रमुख एसपी श्रेष्ठका अनुसार किशोरी र स्मित कक्षा ८ देखि १० सम्म सँगै पढेका थिए।
पछिल्लो समय स्मित पोखरामा सैन्य सम्बन्धी तालिम लिइरहेका थिए। परिवारका एक्ला छोरा उनी बिदामा घर आएका थिए। त्यही बीचमा उनको हत्या भएको हो।