विस्थापित सुकुम्बासीहरूलाई राख्न 'होल्डिङ' सेन्टरका रूपमा प्रयोग गरिएको काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी सत्संग भवनमा मंगलबार राति पानी पसेको छ। वर्षा सँगसँगै छतबाट पानी चुहिनुका साथै ओढ्ने-ओछ्याउने पनि भिजेको यहाँ बसिरहेकाहरू बताउँछन्।
थापाथलीबाट विस्थापित भएका ३४ वर्षीय निरज थापा पहिलो दिनदेखि नै यहाँ बस्दै आएका छन्। उनी तीन जना बच्चा, श्रीमती र आमाबुबासँग छन्। अहिले पानी पसेपछि ओछ्यान भिजेको र बच्चाहरू सुत्न नसकेको उनले बताए।
उनका अनुसार पानी परेपछि होल्डिङ सेन्टरमा कोही पनि सुत्न सकेका छैनन्।
'म ज्याला मजदुरी गर्छु। बाहिर बस्न कोठा पनि खोजेको थिएँ, तर कतै पाइएन,' उनले भने, 'मेरी श्रीमतीले कक्षा १२ को परीक्षा दिइरहेकी छन्। त्यही बेला बस्तीबाट विस्थापित हुनुपरेपछि पढाइमा ध्यान दिन सकेकी छैन।'
काठमाडौं महानगरपालिकाका प्रतिनिधिले सुरूमा आफूहरूलाई लजमा राख्ने भने पनि यहाँ ल्याएर राखिएको उनको भनाइ छ।
'दुई-चार दिन यतै बस्नुस् भन्नुभयो। अहिले हामी चिसो भुइँमा सुत्न बाध्य छौं। के गर्नू!' उनले भने, 'गरिबको निम्ति जहाँ गए पनि बोलिदिने कोही नहुने रहेछ!'
यहाँ लामखुट्टेको साह्रै समस्या भए पनि एक परिवारलाई एउटा मात्र झुल दिइएको पनि उनले सुनाए।
'आठ जनालाई पनि एउटा झुल, दुई जनालाई पनि एउटा झुल! हाम्रो परिवार ठूलो छ, अर्को झुल दिनुस् न भनेको थिएँ, उहाँहरूले त्यस्तो हुँदैन भन्नुभयो,' उनले भने, 'खोई, आफूलाई परेको समस्या सुनाउँदा पनि भोलि अप्ठ्यारो पर्ला कि भन्ने डर पनि छ।'

