स्ट्रेट अफ हर्मुजमा अहिले बन्द छ।
इरानले अमेरिका र इसराइल तथा उसलाई समर्थन गर्ने देशहरूको जहाज त्यो मार्ग भएर चल्न दिएको छैन।
इरानले हर्मुज बन्द गरेपछि अमेरिकाले पनि त्यहाँ नाकाबन्दी गरेको छ। अमेरिका र इसराइलका जहाजहरूलाई रोक्न थालेपछि अमेरिकाले इरानकै जहाजले पनि उक्त मार्ग प्रयोग गर्न नपाओस भनेर त्यहाँ नाकाबन्दी लगाएको छ।
युद्धका दुवै पक्षले कडाइ गरेपछि हर्मुज अहिले बन्द्रप्रायः छ।
तर एउटा रूसी जहाजले भने विना अवरोध हर्मुज पार गरेको खुलेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसाररुसी अर्बपति अलेक्सेई मोर्डाशोभसँग जोडिएको विलासी सुपरयाट ‘नर्ड’ ले सफलतापूर्वक पार गरेको हो।
यो घटना शनिबारको हो। दुबईमा मर्मतपछि उक्त याटले हर्मुजबाटै यात्रा गरेको हो। मोर्डाशोभ निकट स्रोतलाई उद्धृत गर्दै रोयटर्सले अमेरिका र इरान दुवैले याटको आवतजावतमा कुनै आपत्ति नजनाएकाले पार गर्न सम्भव भएको जनाएको छ।
'मैत्री राष्ट्रको नागरिक जहाज भएकाले इरानले हस्तक्षेप गरेन, र इरानी बन्दरगाहसँग सम्बन्ध नभएकाले अमेरिकी पक्षले पनि कुनै प्रश्न उठाएन,' स्रोतको भनाइ रोयटर्सले लेखेको छ।
अमेरिकी अखबार द न्युयोर्क टाइम्सका अनुसार ४६४ फिट लामो ‘नर्ड’ दुबईको पोर्ट राशिदबाट शुक्रबार प्रस्थान गरी शनिबार हर्मुज पार गरेको थियो। ट्र्याकिङ सेवा भेसलफाइन्डर र क्लेप्लरको डाटाले यसको आवागमन पुष्टि गरेको छ।
समुद्री विश्लेषक मिशेल विसे बोकमानलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले याट इरानले अनुमति दिएका जहाजका लागि निर्धारण गरिएको मार्ग हुँदै गुज्रिएको उल्लेख गरेको छ।
इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आइआरजिसी)ले जलडमरू हुँदै जाने जहाजलाई अनुमति अनिवार्य गरेको अवस्थामा ‘नर्ड’ले पनि त्यो प्रक्रिया पूरा गरेको हुनसक्ने जनाइएको छ।
हाल उक्त याट ओमानको तट नजिक देखिएको छ र यसको अन्तिम गन्तव्य हिन्द महासागरस्थित सेशेल्सको पोर्ट भिक्टोरिया रहेको छ।
रुस–इरान सम्बन्धका क्रममा इरानी विदेशमन्त्री अब्बास अराघ्चीले हालै भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका थिए।
मोर्डाशोभमाथि भने युक्रेन आक्रमणपछि अमेरिका र युरोपेली संघले प्रतिबन्ध लगाएका छन्।