सुदूरपश्चिम प्रदेश सरकारले लम्कीचुहा प्रादेशिक अस्पतालमा दुई जना कर्मचारी खटाएको छ।
सरकारले निमित्त मेडिकल सुपरिटेन्डेन्टमा आठौं तहका मेडिकल अफिसर डा. कमलेश प्रसाद यादव र छैटौं तहका लेखा अधिकृत गणेश विष्टलाई खटाएको हो।
वैशाख १५ गते सामाजिक विकास मन्त्राल (प्रदेश सचिवस्तर) निर्णयबाट यादव र सोही दिन आर्थिक मामिला मन्त्रालयले विष्टलाई काम काज गर्न खटाउने निर्णय गरेका थिए।
वैशाख १४ गते सर्वोच्च अदालतले अस्पताल विवादबारे परेको रिटमाथि सुनुवाइ गर्दै प्रदेश सरकारका नाममा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।
गत चैत २४ गते नगरपालिकाले सर्वोच्चमा अदालतमा लम्कीचुहा अस्पतालको विवादबारे अन्तरिम आदेश माग्दै रिट दायर गरेको थियो।
सर्वोच्चको निर्णयसँगै प्रादेशिक अस्पताल सञ्चालनबारे बाटो खुलेको हो।
सुदूरपश्चिम प्रदेश सरकारले प्रादेशिक अस्पताल सञ्चालनका लागि चालु आर्थिक वर्षमा साढे चार करोड रकम विनियोजन गर्नुका साथै एक सय ४६ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो।