सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) को सिस्टम ह्याक गरी ठेक्का विवरण हेरफेर गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार आशिष निर्माण सेवा प्रालि सञ्चालक ७० वर्षीय ऋषिकेश गौलीलाई पक्राउ गरेको हो।
चितवन रत्ननगर नगरपालिका-१२ घर भई बुढानिलकण्ठ मण्डिखाटार बस्ने उनले इ गभर्मेन्ट प्रक्यरमेन्ट (ठेक्काको प्रणाली) मा पहुँच पुर्याएर विवरण हेरफेर गरेको आरोप छ।
ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअगाडि नै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन हुने गरेको भन्दै साइबर ब्युरोमा उजुरी परेको थियो। उक्त उजुरीपछि सुरूमा प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ अनुसार अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानको क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले अहिलेसम्म १० जना निर्माण व्यवसायीहरूलाई पनि पक्राउ गरेको छ। त्यस्तै अन्य तीन जना गरी जम्मा १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
राप्रपाका नेता विक्रम पाण्डे पनि यही कसुरमा अनुसन्धान भइरहेको छ।
अहिले सिआइबीले उक्त मुद्दालाई संगठित अपराध कसुरमा अनुसन्धान अघि बढाएको छ।