जर्मनीका चान्सलर फ्रेडरिक मर्जले इरानले अमेरिकाको अपमान गरेको बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको आलोचना गरेका छन्।
सोमबार पश्चिमी जर्मनीको एक विद्यालय भ्रमणका क्रममा बोल्दै अमेरिका स्पष्ट रूपमा कुनै रणनीतिबिना यस युद्धमा होमिएको र वार्तामा पनि अमेरिकासँग वास्तवमै कुनै ठोस रणनीति नभएको मर्जले औंल्याएका थिए।
'इरानीहरू स्पष्ट रूपमा धेरै कुशलतापूर्वक वार्ता गरिरहेका छन्, वा केवल धेरै कुशलतापूर्वक वार्ता नै गरिरहेका छैनन्,' उनले भनेका थिए, 'इरानी नेतृत्वले एउटा सिङ्गो राष्ट्रलाई अपमानित गरिरहेको छ।'
त्यसको जबाफ दिँदै मर्जलाई के बोलिरहेको छु भन्ने पनि थाहा नभएको ट्रम्पले टिप्पणी गरेका छन्।
'जर्मनीका चान्सलर फ्रेडरिक मर्ज़लाई इरानसँग आणविक हतियार हुनु ठिकै लाग्छ। उनलाई आफूले के बोलिरहेको छु भन्ने नै थाहा छैन! यदि इरानसँग आणविक हतियार भयो भने, पूरा विश्व नै बन्धक बन्नेछ,' ट्रम्पले सामाजिक संजालमा मंगलबार लेखेका छन्।
इरानको आणविक हतियार कार्यक्रममा रोक्न आफूले हालेको दबाब अरू राष्ट्र वा राष्ट्रपतिहरूले धेरै पहिले नै गर्नुपर्ने थियो भन्ने पनि ट्रम्पले तर्क गरेका छन्।
‘जर्मनी आर्थिक र अन्य रूपमा किन यति कमजोर भइरहेको छ भन्ने कुरामा त्यसैले कुनै अचम्म मान्नु पर्दैन!,’ ट्रम्पले थपेका छन्।
इरान विरूद्ध अमेरिका र इसराइलले सुरू गरेको युद्धले आर्थिक वृद्धिलाई नोक्सान पुर्याइरहेको, विश्वव्यापी तेल र ग्यास आपूर्तिमा अवरोध सिर्जना गरेको बेलामा अमेरिका र युरोपेली देशहरूबीचको सम्बन्धमा तनाव पैदा गरेको छ। यस्तो बेलामा अमेरिकाको कट्टर समर्थन गर्ने मर्जले त्यस्तो टिप्पणी गरेपछि ट्रम्पले पनि जबाफ फर्काएका हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)