काठमाडौं जिल्ला प्रशासन कार्यालयले नदी किनारमा बस्ती हटाउन शुक्रबारदेखि डोजर चलाउने बताएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै विभिन्न पालिका भित्रका नदी किनारमा सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका बस्ती हटाउन शुक्रबारदेखि डोजर चलाउने बताएको हो।
प्रशासनले वैशाख १८ गते बिहान ७ बजेदेखि काठमाडौं जिल्लाभर एकैपटक विभिन्न स्थानबाट बस्ती खाली गराउने कार्य सुरू हुने बताएको छ।
सूचनामा जोखिमयुक्त क्षेत्रमा निर्माण भएका घरटहरा तत्काल खाली गर्न, बिरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी तथा बालबालिकालाई प्राथमिकताका साथ सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।
वैशाख १७ गते साँझसम्म पूर्ण रूपमा घरटहरा खाली गरिसक्न समेत निर्देशन दिएको छ।
प्रशासनले घरभित्र रहेका लत्ताकपडा, पशुचौपाया तथा अन्य सम्पत्ति सुरक्षित रूपमा बाहिर निकाल्न आग्रह गर्दै आवश्यक परे सुरक्षाकर्मीबाट सहयोग लिन सकिने जनाएको छ।
उद्धार तथा स्थानान्तरणका क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रहरीबाट आवश्यक सहयोग उपलब्ध गराइने पनि उल्लेख छ।
यस्तै, वास्तविक भूमिहीन परिवारहरूको पहिचान गरी दीर्घकालीन समाधानका लागि सरकारका सम्बन्धित निकायबाट पहल गरिने तथा अस्थायी रूपमा बसोबासको व्यवस्था गरिने जनाइएको छ।
झूटा विवरण दिई भूमिहीनको दाबी गर्नेहरूलाई भने कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।