बाजुरामा चट्याङले हानेर स्थानीय दुई जना किसानले पालेका ३९ वटा खसी बाख्रा मरेका छन् थप ३९ खसी बाख्रा बेपत्ता छन्।
स्वामी कार्तिक खापर गाउँपालिका–१ रानीसैन वनमा चराउन लगेका स्थानीय दुई किसानका खसी बाख्रा चट्याङ लागेर मरेका हुन्। पानी परेपछि स्थानीय राउटे ओडारमा ओत लागेका खसी बाख्रालाई चट्याङले हानेको थियो।
चट्याङले रानीसैनका सज्जन कडाराका ११ वटा र स्थानीय जसबिर रावलका २८ वटा खसी बाख्रा मरेका हुन्।
चट्याङ परेपछि जंगलतर्फ दौडिएका कडाराका १५ वटा र रावलका २४ खसी बाख्रा बेपत्ता छन्।
बुधबार बेलुकीपख वर्षा सहितको हावाहुरीसँगै परेको चट्याङले राउटे ओडारमा ओत लागेका खसी बाख्रा मरेकोबारे स्थानीय मानबहादुर रावलले बिहीबार बिहान इलाका प्रहरी कार्यालय स्वामी कार्तिकमा टेलिफोनमार्फत् सूचना दिएका थिए।
सूचनाका आधारमा बिहान इप्रका स्वामी कार्तिकबाट हवल्दार हेमबहादुर खड्काको नेतृत्वमा तीन जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनास्थलमा प्रहरीले ३९ खसी बाख्रा मरेको अवस्थामा फेला पारेको थियो भने थप ३९ खसी बाख्रा बेपत्ता रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ।
बढी पहिरो र चट्याङले मरे भेँडा-बाख्रा
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार वैशाख १५ गते दिउँसो जिल्लाको त्रिवेणी नगरपालिका–९ खोयामा स्थानीय कुलबहादुर साउदका तीन वटा बाख्रा चट्याङले मरेका थिए।
बाख्रा गोठ नजिकै मेलको रूखमा चट्याङ पर्दा गोठमा रहेका तीन वटा बाख्रा मरेको प्रहरी निरीक्षक शाहीले बताए।
सोही दिन जिल्लाको जगन्नाथ गाउँपालिका–२ माथिल्लो हुनीमा अविरल वर्षाको कारण पहिरो जाँदा त्यसमा परी भेँडा र बाख्रा मरेका थिए।
भयलपाटारचौका वनमा चराउन लगेर घर ल्याउँदै गरेका जगन्नाथ गाउँपालिका–२ माथिल्लो हुनीका चैनबहादुर विष्टका ५४ वटा बाख्रामध्ये पहिरोमा परी २ वटा बाख्रा मरेका थिए भने ९ वटा बेपत्ता भएका थिए।
सोही ठाउँका अमृत ल्वारका ५६ वटा बाख्रामध्ये पहिरोमा परी ३ वटा मरेको तथा १४ वटा बेपत्ता छन्।
प्रहरी चौकी कुन्नाबाट घटनास्थल पुगेका प्रहरी हवल्दार नन्द विष्टका अनुसार राजबहादुर विष्टका ४० वटा भेँडामध्ये पहिरोमा परी ५ वटा मरेको अवस्थामा फेला परेका थिए भने १० वटा बेपत्ता छन्। स्थानीय ऐन बहादुर विष्टका ९५ वटा भेँडामध्ये पहिरोमा परी ३ वटा मृत फेला परेका थिए भने ५ वटा बेपत्ता रहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए।