स्थानीय प्रशासनले आफ्नो नामको अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेको छ।
दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बिहीबार सार्वजनिक सूचनामार्फत जिल्ला प्रशासन कार्यालय घोराही दाङको नाममा रहेको घोराही उपमहानगरपालिका वडा नं. १४ र १६ मा रहेका सुकुम्बासी बस्ती हटाउन आग्रह गरेका छन्।
उनले ती वडामा घोराही ७ (ख) कित्ता नम्बर ६५१ को क्षेत्रफल १३–१४–३–० (९२८३५.८० बर्ग मिटर) भएको जग्गामा अनाधिकृत रुपमा निर्मित घर टहरा हटाउन आग्रह गरेका छन्। ती ठाउँमा अनधिकृत रूपमा निर्मित घर टहरा निर्माण गरेर वा भोगचलन गरी जग्गा अतिक्रमण/कब्जा गरी बसेका ब्यक्ति तथा संस्थालाई २१ दिनभित्र घर टहरा तथा भौतिक संरचना हटाई जग्गा खाली गर्न सूचित गरिएको छ।
ती संरचना आफै नहटाए प्रशासनले हटाउने चेतावनी दिइएको छ।
साथै प्रशासनले वास्तविक भूमिहीन/सुकुम्बासीलाई अन्यत्र व्यवस्था गर्न सकिने भएकाले त्यस्ता ब्यक्तिलाई दश दिनभित्र प्रशासनमा लिखित रूपमा निवेदन दिन आग्रह पनि गरिएको छ।
यसअघि जिल्लाकै लमही बसपार्क क्षेत्रमा अतिक्रमण गरी निर्मित घर टहरा हटाइसकिएको छ।
बिहीबार मात्रै राप्ती गाउँपालिका स्थानीयले प्रदर्शन गरेका छन्।
लुम्बिनी प्रदेशको राजधानी क्षेत्रका स्थानीयले सरकारको डोजर आतंक विरूद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।
प्रदेश मन्त्रालय पूर्वीद्वार मसुरिया चौरबाट सुरू भएको विरोध र्याली राप्ती गाउँपालिका कार्यालय द्वारमा पुगेर कोणसभामा परिणत भएको थियो।
उनीहरूले राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टलाई आफूहरूलाई नहटाउन आशय सहितको ज्ञापनपत्र पनि बुझाएका थिए।
र्यालीका सहभागीले प्रधानमन्त्री बालेन्द्र शाहको विरोध गर्दै विभिन्न नाराबाजी गरेका थिए।