कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा आश्रित २६ वर्षीया गृभानिका थापामगरले पुस्तक पाएकी छन्।
होल्डिङ सेन्टरमा आश्रित गृभानिकाले चलिरहेको कक्षा-१२ को परीक्षामा पुस्तकहरू पुरिएपछि पढ्न नपाएको बताएको थिइन्।
बिहीबार काठमाडौं महानगरपालिको कार्यवाहक मेयर सुनिता डंगेलको तर्फबाट भन्दै एक 'पठाओ'मार्फत आफूलाई लेखाको पुस्तक प्राप्त भएको गृभानिकाले सेतोपाटीलाई जानकारी दिइन्।
'लेखाको पुस्तक पाएँ। एउटा कापी किनेर अभ्यास गरिरहेको छु,' उनले भनिन्, 'परीक्षा आइतबार (वैशाख २०) गते छ।'
अरू विषयका भने गाइडहरू मागेको उनले बताइन्। 'ल्याइदिनुहुन्छ भन्ने आस गरेको छु,' उनले भनिन्।
साथै उनलाई एम्बिसन गुरू कम्पनीले अनलाइन कक्षा दिने प्रतिवद्धता व्यक्त गरेको उनी बताउँछिन्।
उनका अनुसार पढ्ने वातावरण खासै छैन। तै पनि आफ्नो मेहनतमा कुनै कसर बाँकी छोडेको छैन।
७ जनाको परिवार र ३ जना बालबालिका भएकाले प्रहरीहरूसँग कुरा गरेर छुट्टै टेन्ट हाउन माग गरेको थिए। त्यो पनि दिनु भएको उनी बताउँछिन्।
वैशाख १४ गतेदेखि सुरू भएको परीक्षा २७ गते सकिने उनी बताउँछिन्।
सुकुम्बासी बस्ती भत्काउने भएपछि उनले राम्ररी परीक्षाको तयारी पनि गर्न पाइनन्।
१८ महिने छोरा र ५ वर्षकी छोरी, श्रीमान, सासु-ससुरा र भान्जीसहित ७ जनाको परिवार थापाथलीको सुकुम्बासी बस्तीमा बस्दै आएको थियो।
गत शुक्रबार बस्तीमा डोजर चलेपछि उनको परिवार अहिले कीर्तिपुरको होल्डिङ सेन्टरमा छ।
बस्तीबाट विस्थापित हुनुपरेपछि हतार हतारमा उनले आफ्ना पूरा सामान पनि ल्याउन पाएकी थिइनन्।
उनले मंगलबार काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनीता डंगोल होल्डिङ सेन्टर निरीक्षणमा आउँदा आफ्नो पढाइको समस्या जानकारी गराएकी थिइन्।
गृभानिकाको समस्या सुनेपछि मेयर डंगोलले पढाइमा मद्दत होस् भनेर एक महिनाको मोबाइल डेटा लिइदिएकी छन्। आवतजावत र पढ्नलाई मुख्य विषयका गाइडको व्यवस्था गरिदिने प्रतिबद्धता पनि गरेको उनी बताउँछिन्।
उनी कालिमाटीमा रहेको जनप्रभात माध्यमिक विद्यालयमा पढ्छिन्। परीक्षाको सेन्टर काठमाडौं कलेजमा परेको छ।
व्यवस्थापन विषय लिएर कक्षा १२ पढिरहेकी गृभानिकाको चार्टर्ड एकाउन्टेन्ट (सिए) बन्ने सपना छ। त्यही सपनाले डोर्याएर ८/९ वर्षपछि फेरि पढाइमा होमिएको उनी बताउँछिन्।
'सानै उमेरमा प्रेम विवाह भयो। बच्चा भएपछि एसइई दिन पाएको थिइनँ,' उनले भनिन्, 'चार वर्षअघि मात्र प्राइभेटबाट एसइई पास गरेको हुँ।'