त्रिभुवन विश्वविद्यालय केन्द्रीय शिक्षा विभागअन्तर्गत अंग्रेजी शिक्षा विभागले दुई दिने सम्मेलन गर्ने भएको छ।
अंग्रेजी शिक्षा विभागका उपप्राध्यापक गुरूप्रसाद पौडेलका अनुसार अंग्रेजी भाषा शिक्षण र व्यावहकारिक भाषा विज्ञानसम्बन्धी आठौं वार्षीक अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको हो।
उक्त सम्मेलन यही वैशाख १९ र २० गते हुनेछ।
डिजिटल युगमा अंग्रेजी भाषा शिक्षाको मानवीयकरण: रोजगारी, समानता र कल्याण भन्ने मूल विषयमा आधारित उक्त सम्मेलनमा नेपालसहित सात देशका करिब तीन सय जना सहभागी रहने अपेक्षा गरिएको उनले बताए।
सम्मेलनले अंग्रेजी भाषा शिक्षण तथा प्रायोगिक भाषा विज्ञानका क्षेत्रमा कार्यरत विद्वान्, शिक्षक तथा अनुसन्धानकर्ताबीच संवाद र सहकार्य प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
सम्मेलनका प्रमुख वक्तामा प्राध्यापकहरू राम आशिष गिरी (मोनाश विश्वविद्यालय), ब्यारी बाई (हङकङको चिनियाँ विश्वविद्यालय), विनोद लुइँटेल (त्रिभुवन विश्वविद्यालय) रहनेछन्।
कार्यक्रममा प्रमुख वक्तव्य, प्लेनरी सत्र, विशेष प्रस्तुति, जेनेरेटिभ एआईजस्ता उदीयमान प्रविधिको भूमिकाबारे प्यानल छलफल तथा ६० भन्दा बढी अनुसन्धानमूलक कार्यपत्र प्रस्तुति रहनेछ।
सम्मेलनको उद्घाटन शिक्षा शास्त्र संकायका डीन वेदराज आचार्यले गर्नेछन्।
कार्यक्रमले नेपालमा अंग्रेजी भाषा शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षकहरूको व्यावसायिक विकास तथा शैक्षिक सहकार्य प्रवर्द्धन गर्ने लक्ष्य राखेको बताइएको छ।