गर्भावस्था भनेकै एकदमै संवेदनशील समय हो। गर्भावस्थालाई हामीले तीन भागमा बाँडेका हुन्छौँ—पहिलो त्रैमासिक, दोस्रो र तेस्रो त्रैमासिक भनेर।
यो कुराकानीमा मैले दोस्रो त्रैमासिक समयलाई धेरै केन्द्रित गरेको छु। दोस्रो त्रैमासिक भन्नाले १४ देखि २८ हप्तालाई बुझिन्छ। यसलाई पहिलो र तेस्रो त्रैमासिकभन्दा अलि सुरक्षित ठानिन्छ।
दोस्रो त्रैमासिकमा ख्याल राख्नुपर्ने एउटा विषय के हो भने पहिलो गर्भ हो कि दोस्रो भनेर। दोस्रो त्रैमासिकमा बच्चा खेर गएको छ कि छैन भनेर जानकारी हुन जरूरी छ। किनभने यो समयमा यदि बारम्बार बच्चा खेर जान्छ भने पाठेघर खुकुलो भएर हुन सक्छ। पाठेघरको बनावटमा समस्या हुँदा बच्चा खेर जाने समस्या हुन सक्छ। यसको पहिचानका लागि गर्भवती हुनुभन्दा पहिला परीक्षण गर्न सकिन्छ। परीक्षणका क्रममा पाठेघरको मुख खुकुलो भएको पाइयो भने बेलैमा पाठेघरको मुख सिलाउनसमेत सकिन्छ। अहिले प्रविधिको विकासले दूरबिनको माध्यमबाट समेत यस्ता परीक्षण र उपचार सहज भएको छ।
गर्भको योजना बनाउँदैमा आफ्नो चिकित्सकलाई विगतको अवस्थाबारे जानकारी गराउनुपर्छ। जसले गर्दा गर्भावस्थामा आउन सक्ने सम्भावित समस्याबारे थाहा पाउन सकिन्छ।
गर्भवतीमा प्रेसर, सुगर लगायतका समस्या देखिन सक्छन्। त्यसैले गर्भवतीको विभिन्न खालका परीक्षण गर्नुपर्छ।
विभिन्न जटिलता आएका गर्भवतीको हकमा चिकित्सकले भनेअनुसार औषधि जरूरी पर्छ। सामान्य अवस्थामा भने आइरन, क्याल्सियमको निरन्तरता जरूरी पर्छ। कतिलाई क्याल्सियम खाँदा कब्जियतको समस्या हुन्छ। यस्तो समस्या हुनेहरूले फाइबरयुक्त सागपात खाएमा यो समस्या कम हुन्छ।
२४ देखि २८ हप्तामा गर्भवतीले सुगर, भिटामिन डी लगायतको परीक्षण गरिन्छ।
कुनै महिलाको खुट्टा दुख्ने, फर्किने समस्या छ भने भिटामिन डीको परीक्षण जरूरी पर्छ।
दोस्रो त्रैमासिकमा पनि कतिपय होसियारी भने अपनाउनै पर्छ। जस्तो यात्रा गर्ने क्रममा अलि ध्यान दिनुपर्छ। गर्भावस्थामा यात्रा नै गर्न नहुने भन्ने होइन। त्यो गर्भवतीको अवस्थामै भर पर्छ। हिँड्डुल गर्न गाह्रो भएको छैन, साल तल पनि छैन भने समस्या हुँदैन। तर कतिपयको साल तल हुन सक्छ। त्यस्तो भएमा निगरानी जरूरी पर्छ। साल तल टाँसिएको छ अनि बेला–बेला रगत देखिएको छ भने आराम गर्न जरूरी हुन्छ।
सामान्य अवस्था भएकाले पनि यात्रा गर्दा धेरै थर्किने सडकहरूमा भने गर्न हुँदैन। सकेसम्म यात्रा नगरेकै राम्रो हो।
मैले हेरेको एक जना गर्भवती स्कुटर दुर्घटनामा परेर बच्चा गुमाउन परेको थियो। त्यसैले सकेसम्म गर्भवती आफैले सवारी साधन नचलाएको राम्रो हो भन्ने मलाई लाग्छ। यदि चलाउने हो भने आफूलाई केही परेमा सहयोग गर्न सक्ने व्यक्ति साथमा हुन जरूरी पर्छ। तर एक्लै यात्रा गर्न भने हुँदैन।
अनि गह्रौँ सामान उचाल्ने, बच्चा बोक्ने गर्नु हुँदैन।
खाना खाने क्रममा पनि ख्याल राख्न जरूरी छ। प्रोटिनयुक्त खाना, सागसब्जीमा ध्यान दिनुपर्छ। नयाँ खालका खाना भने सकेसम्म नखाएको राम्रो हो। किनकि कहिलेकाहीँ यस्ता खाना नपच्न सक्छ। त्यसैले गर्भ रहनुभन्दा पहिला जे खाइन्थ्यो त्यस्तै खाना खाएको राम्रो हो।
समय–समयमा खाने तर थोरै खाने गर्नुपर्छ। मिठो लाग्यो भन्दैमा एकैचोटि धेरै खान हुँदैन।
यो बेला पाठेघरको मुख खुकुलो भएर समस्या परेको हुन सक्छ। पहिले चलेको बच्चा एक्कासि चलेको थाहा पाइएन भने, रगत देखिएको छ, शरीर चिलाउने लक्षण देखिएको छ, एक्कासि टाउको दुख्ने, वाकवाक लाग्ने, माथिल्लो पेट दुख्ने, आँखा धमिलो हुने लगायत समस्या छन् भने तुरून्तै अस्पताल जानुपर्छ।
(प्रजनन तथा स्त्रीरोग विशेषज्ञ डा. करिष्मा पाण्डे ह्याम्स अस्पतालमा कार्यरत छिन्।)